सांकेतिक तस्बिर

देश/प्रदेश

अवैध लागू औषधसहित पाँच जना पक्राउ

By खबरहब

July 03, 2022

काठमाडौँ- कैलाली र पर्सामा अवैध लागू औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–५ चौरीस्थित पानी ट्याङ्की नजिक सडकबाट खैरो हेरोईन जस्तो देखिने डल्लो पदार्थ सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका–२ बस्ने १८ वर्षीय किशोर सहित ३ जना छन् । उनीहरूको साथबाट १ ग्राम १ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने डल्लो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

लु.८३ प २९८३ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

पर्साको वीरगंज महानगरपालिका–१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध ४ सय ४९ बोतल विनिसिरेक्स कफ सेरूप सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१९ बस्ने २५ वर्षीय उमेश बल र २२ वर्षीय राज कुमार सेङताङ रहेका छन् ।

ना.५ ख ३९९० नम्बरको बस जाँच गर्नेक्रममा बसका चालक उमेश र सहचालक राज कुमारलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।