देश/प्रदेश

सात घण्टापछि एकतर्फी सञ्चालनमा आयो दशरथचन्द राजमार्ग

By खबरहब

July 03, 2022

काठमाडौँ– पहिरोले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

अवरुद्ध बनेको राजमार्ग सात घण्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालयसँगको समन्वयमा लगिएको डोजरले पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

पूर्णरूपमा सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध बनेपछि बझाङ, बैतडी र दार्चुलाका गाडीहरु बीच बाटोमा अलपत्र परेका थिए ।

अलपत्र परेका यात्रुहरू एकतर्फी सडक खुलेसँगै आ–आफ्नो गन्तव्यमा जान थालेका छन् ।