अन्तर्वार्ता

‘निरोगी बच्चा भोलिको स्वास्थ्य र सक्षम जनशक्ति हो’

By विना न्यौपाने

August 03, 2022

अहिले विश्व स्तनपान सप्ताह चलिरहेको छ। शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाइमा अगस्त १ तारिखदेखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको हो। यसै अवसरमा नेपाललगायत विश्वका १ सय ७० भन्दा बढी देशले आजदेखि एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दैछन्। स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौं भन्ने नाराका साथ यो वर्षको स्तनपान सप्ताह सुरु भएको छ। विश्व स्तनपान हप्ता पहिलो पटक १९९२ मा वल्र्ड अलायन्स फार ब्रेस्टफिडिङ एक्सनद्वारा १ देखि ७ अगस्टसम्म उत्सवका रूपमा मनाइएको थियो। विश्वव्यापी स्तनपान संस्कृतिलाई पुनः स्थापना गर्ने र जहिले पनि स्तनपानका लागि समर्थन प्रदान गर्ने लक्ष्यसहित युनिसेफ डब्ल्यूएचओ, व्यक्ति, सङ्गठनहरू र सरकारलगायत उनीहरूका साझेदार संस्थाले मनाउने गर्छन्। सुत्केरी हुने बित्तिकै अउने आमाको पहेंलो बिगौती दूध निकै पोषिलो र स्वस्थ्यकर हुन्छ। ६ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्त्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान सुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटकसम्म आमाको दूध खुवाउनुपर्ने विज्ञले बताएका छन्। आमाको दूधले शिशुको स्वास्थ्यमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। तर, पछिल्लो समय आफ्नो सुन्दरता बिग्रन्छ भनेर धेरै जनाले शिशुलाई दूध नखुवाउने गरेको पाइन्छ। स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने जस्ता गलत धारणा रहेको पाइन्छ। नेपालको पछिल्लो स्तनपानको अवस्था के छ ? पोषण शाखाले कसरी काम गर्दैछ ? परिवार कल्याण महाशाखा अन्तरगत पोषण शाखा प्रमुख लिलाविक्रम थापासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

विश्व स्तनपान सप्ताह सुरु भइरहेको छ, नेपालमा कसरी मनाइँदै छ ? नेपालमा विश्व स्तनपान दिवस मनाउनका लागि ७५३ स्थानीय तहमा बजेट विनियोजन गरेर पठाएका छौँ। एक हप्तासम्म विभिन्न क्रियाकलाप गरेर स्तनपानको विषयमा चर्चा परिचर्चा गर्नेछौँ। देश र देश बाहिर हुने कार्यक्रममा सहभागी भएर यो अभियानमा नेपाल सहभागी हुँदैछ। सङ्घीय स्तरमा (रोजा युनिसियस) बाट विश्वको स्थिति के छ भनेर अनलाइन र भौतिक रूपमा उपस्थिति भएर सार्क सचिवालयमा बुधबार (वर्ल्र्ड ब्रेस्ट फिडिङ विक इभेन्ट) भनेर सचिव, युनिसियस रोजा र रिजनल अफिस युनिसेफको बेल्ली र मन्त्रालय र विभागका विभिन्न विषयका विज्ञसहित कार्यक्रम गर्दै आएका छौँ। यसअघि नै हामीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘ब्रेस्ट फिडिङ बैंक’ भनेर परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्थापना गरेका छौँ। एउटी आमाको दूधलाई विभिन्न खालको प्रक्रिया अपनाएर एक वर्षमा करिब ६ हजारसम्म बच्चालाई खुवाउन मिल्नेगरी शुभारम्भ गर्दैछौँ। विभिन्न अस्पतालमा मातृ शिशु अस्पताल भनेर संघ र प्रदेश अस्पतालमा स्तनपानलाई कसरी सर्पोट गर्ने र कसरी अगाडि लैजाने भनेर साउन २२ गतेसम्म विभिन्न ठाउँमा गएर अवलोकन गर्ने तयारी गरेका छौँ। यो अभियानको नारा नेपालमा “स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग” भन्ने रहेको छ।

जब यो स्तनपान सप्ताह सुरु हुँदा सबै निकायले उत्साहका साथ काम गरेको देखिन्छ। तर, त्योबाहेक अरू समयमा मौन भएको देखिन्छ। यो पोषण शाखाले अन्य समयमा के के काम गरेका छन् ? यो एउटा अभियान हो। अहिले मातृ शिशु मैत्री भनेर अस्पतालमा बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउन सकियो भने २२ प्रतिशत शिशु मृत्युदर घटाउन सकिने अध्ययनले देखाएका छन्। आमालाई सुत्केरी गराउन लैजाँदा उसले रोजेको साथी बस्न पाउने व्यवस्था गरेका छौं। मातृ शिशु मैत्री अभियान घोषणा गर्न अस्पतालअस्पतालमा कार्यक्रम गर्दै आएका छौँ। नेपालमा स्तनपानलाई संरक्षण तथा सम्र्बधन गर्न आमाको दूधलाई प्रतिस्थापना गर्ने वस्तु यो विक्री वितरण ऐन २०४९ र २०५१ का प्रावधानका ऐन र नियमावली छन्। स्थानीय तहसम्म मातृ शिशु मैत्री स्वास्थ्य संस्था भनेर आमाले बच्चा जन्मेको १ घण्टा भित्र स्तनपान गर्ने, ६ महिनासम्म स्तनपान मात्र गराउने र त्यसपछि थप खानेकुरा खुवाउने भनेर यी कार्यक्रम नियमित रूपमा गरेका छौँ।

यो कार्यक्रम सहर केन्द्रित भयो भन्ने आरोप छ नि ? प्रत्येक स्थानीय तहमा विभिन्न निकायसँग समन्वय गरेर कार्यक्रम गर्दै आएका छौँ। यसको प्रचार प्रशारका लागि ब्यानरबनाउनदेखि एफएम रेडियोबाट सुनाउने सम्मका कार्यक्रम गरेका छौँ। यो बिहीबार स्तनपान सम्र्बधन, संरक्षण र सहयोग सम्बन्धी सरोकारवालाको अन्तक्रिया हुँदैछ। त्यसमा अहिलेको अवस्था कस्तो छ ? कसरी अगाडि जाने भनेर कार्यक्रम गरिरहेका छौँ।

खर्च अनुसारको प्रतिफल पाउन सकिएको छैन भनिएको छ, बुझ्ने मानिसले पनि स्तनपान गराउनु भएको छैन। यो अवस्थालाई कसरी परिवर्तन गर्न सकिन्छ ? स्तनपान सम्बन्धी जनचेतना जगाउने कार्यक्रमहरू बढाउनु पर्दछ। आमाको दूध प्रतिस्थापना गर्ने वस्तुहरू बिक्री वितरणमा रोक लगाउने। अहिले हामीले केन्द्र प्रदेश र स्थानीय तहमा निरीक्षक तोक्ने कामस्वास्थ्य मन्त्रालयले गरिसकेको छ। त्यो निरीक्षकमार्फत् आठ वटा इभेन्ट हुन्छन्। एउटा प्रदेशका विभिन्न विषय विज्ञलाई काठमाडौंमा ल्याउने भनेर गर्छौ। अर्को ७ वटै प्रदेशमा यसलाई कसरी संरक्षण गर्ने भनेर त्यहाँका शिक्षकलाई तालिम दिएर आमाको दूध प्रतिस्थापना गर्ने वस्तुहरू बिक्री वितरणमा रोक लगाउने र सजाय गर्ने अभियान सञ्चालन गरेका छौँ।

आमाको दूध प्रतिस्थापना गर्ने वस्तुहरू बिक्री वितरणमा रोक लगाउने भन्नुहुन्छ । यो कुरा भन्ने बित्तिकै सम्भव छ र ? यो वर्षबाट प्रारम्भ गर्दैछौँ। विस्तारै यो न्यूनीकरण गर्दै लैजाने हो। खोप सस्तो मूल्यमा उपलब्ध गराएर तल्लो तहसम्म शिशु मृत्युदर घटाउने योजना हामीले गरेका छौँ। सन् २०३० सम्म ९० प्रतिशत भन्दा बढी आमाले स्तनपान गराऔं भन्ने लक्ष्य लिएका छौँ।

अन्त्यमा केही भन्नै पर्ने कुरा केही छन् ? बच्चाको लागि आमाको दूध अमृत समान हुन्छ। बच्चा जन्मेको १ घण्टादेखि र ६ महिनासम्म आमाको दूध खुवाउनु पर्दछ। ६ महिनापछि आमाको दूध र साथमा अरू खाना खुवाउने, ६ महिनासम्म पर्याप्त मात्रामा आमाको दूध नियमित रूपमा खुवाउँदा १३ प्रतिशतदेखि २२ प्रतिशतसम्म शिशु मृत्युदर रोक्न सकिन्छ। त्यसैले नियमित रूपमा स्तनपान गराउँदा आमा र बच्चा दुबैलाई विविध फाइदा हुन्छ। आज स्तनपान गराएर एउटा निरोगी बच्चा बनाउनु भनेको भोलि व्यक्ति, परिवार, समाज र देशका लागि निरोगी र सक्षम जनशक्ति तयार गर्न सक्छौँ। प्रस्तुति : पुष्पाञ्जली बस्नेत