पछिल्लो समय मुलुकभर आपराधिक घटनाहरु मौलाइरहेका छन् । हत्या, हिंसा, बलात्कार, लागूपदार्थ दुर्व्यसनीका घटना क्रमिक रुपमा बढ्दो छन् । यसै साता काठमाडौंमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परे । पारिवारिक कलहले श्रीमानले परिवारका सदस्यको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो । यस्ता घटनाले समाजमा नकारात्मक असर पार्दै गएको छ । समाजमा किन यस्ता खालका समस्या बढिरहेका छन् ? मान्छेले किन आफ्नो आवेगलाई कन्ट्रोल गर्न सकेको छैन ? यी र यस्तै समस्या वरिपरि रहेर स्वामी योगानन्दसँगको खबरहबकर्मी चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:
दिनप्रतिदिन मानिसहरूमा हत्या हिंसा बलात्कार लगायतका मनोवृति बढिरहेको छ, किन यस्तो भइरहेको होला ?
मानव इतिहासलाई अध्ययन गर्ने हो भने यो आजको मात्र समस्या हैन । पहिलो, मानव जुन छ त्यो आफैमा हिंस्रक प्रकृतिको छ । किनभने मानव जनावरबाट विकसित भएको हो । प्रकृतिले नै मान्छे जन्मिँदा कोही रिसाहा, कोही दयालु बनाएको हुन्छ । कोही जन्मिदा नै लोभी छ भने त्यो जन्मबाट नै ल्याएको हो । दोस्रो, जन्मको संस्कार कस्तो परिवारमा हुर्केको छ, स्कुलको अवस्था कस्तो छ त्यो कुरमा पनि भर पर्दछ ।
तेस्रो, त्यो व्यक्ति बसेको समाजमा निर्भर रहन्छ । यो समस्या जबसम्म मानवको भित्री मन शान्त हुँदैन । लोभ, हत्या, हिंसा लगायतका चिजहरू जबसम्म शान्त हुँदैन, तबसम्म यो कुनै न कुनै रूपमा चलिरहन्छ । हरेक व्यक्तिमा यो हुन्छ । कुनै न कुनै दिन बाहिर निस्कन्छ ।
पछिल्लो समय घटेका घटनामा शिक्षा र समाजले कस्तो भूमिका खेलेको छ ?
हाम्रो शिक्षा एकोहोरो रूपमा पहिलो हुने र गुलाम बनाउने प्रवृत्तिको छ । सानो कक्षामा नै विद्यार्थी प्रथम होस् भन्ने धारणा अभिभावकको र हरेकको चाहना हुन्छ । जो प्रथम हुँदैन, त्यो पनि किन भएन भनेर पीडित हुन्छ उसले भनेको कसैले मान्दैन । समाजले पनि सबैले आनन्दित जीवन बिताउनुपर्छ भनेर सिकाएको छैन । आफूले आफूलाई सफल बनाउन प्रयास गरौँ तर आफूले भनेको कुरा सफल भएन भने कुनै चिन्ता नलेऊ भन्ने शिक्षा काहीँ छैन । चेतनशील मान्छेहरूले ध्यानलाई योगलाई आफ्नो जीवनमा ल्याउन सुरुवात गरेका छन् तर समग्र समाजमा यो शिक्षा छैन । त्यसैले दुख, पीडा कहाँ फाल्ने त ? आखिर कुनै न कुनै माध्यमबाट बाहिर त आउँछ । यो आचरणहरू बोलेर मात्र आउँदैन यसलाई त व्यवहारिक पाटो स्कुल, कलेज, हरेक अफिसहरूमा पनि मेडिटेसन योगलाई जीवनको अङ्ग बनाउनै पर्दछ । नत्र भने यो संसार यस्तै नै रहन्छ ।
हिंसाका घटनाहरु धेरै बढेका छन् । यसमा राज्यको पनि केही भूमिका रहन्छ ?
समाजको छाप परेको हुन्छ । राज्यले स्कुल कलेज खोलेर राजस्व पनि उठाएको छ । डाक्टर, इन्जिनियर, जनशक्ति उत्पादन गरेको छ तर त्यो अनुसारको रोजगार छैन । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूमा प्राविधिक सामान्य तालिम दिने र खाडी मुलुकमा पठाउने मात्र सिस्टम छ । यसमा राज्य, समाज सबैको भूमिका रहन्छ । राज्यले नैपालमा नै रोजगारी कसरी दिने, रिस राग कसरी हटाउने भनेर प्रयास गरेका छैनन् । व्यक्ति आफैले पनि सचेत हुनुपर्छ । अवसरका लागि आफै अगाडि बढ्नुपर्दछ ।
रिस राग हटाउने उपाय ?
यो रिस राग भनेको एउटा ऊर्जा हो । हरेक कुरामा हुने उर्जा । कामवासनामा हुने उर्जा, खाना खाँदा, काम गर्दा सबै त्यही उर्जा हो । तर त्यसलाई कामका आधारमा विभाजन गछौँ । त्यसलाई मेडिटेसन भन्छौँ । न्युटनले पनि ऊर्जा न नष्ट गर्न सकिन्छ, न बनाउन सकिन्छ बरु यसलाई परिवर्तन गर्न सकिन्छ भनेका छन् ।
रिस र आवेगसँग अहिले नकारात्मकता पनि बढेको छ । त्यो रिसलाई सही रुपले परिवर्तन गर्न सक्यो भने ध्यानमा, प्रेममा, करुणामा बदलिन्छ । तर नकारात्मकतातिर गयो भने हत्या, हिंसा बढ्छ । राम पनि हामीभित्रै छ । र रावण पनि हामीभित्र नै छ ।
मनको चित्तको वृत्तिहरू (हत्या, हिंसा) लाई शान्त गर्ने कुरा नै योग हो भनेर पतञ्जलिले भनेको छ । यसमा अष्टाङ्ग (ऐन, नियम, आसन, प्रणायम, प्रचायामि, धर्मा, ध्यान, समर्पण) ले प्रभाव पार्छ ।
ऐन भनेको आफू जागरूक हुनुपर्यो । नियम भनेको त्यो व्यायामका लागि आफूले आफूलाई एउटा अनुशासनमा राख्नपर्यो । आसन यसमा जुन सुकै योगहरू गर्नु पर्दछ । प्रणायम यो श्वासको स्थिति, प्रचायामि भनेको आफूभित्र पनि यो समस्या छ है भनेर स्वीकार गर्नुपर्छ । यी कुराहरू गरेर पनि उपचार गर्न सकिन्छ । यो हरेक स्कुलमा योगको कक्षा सञ्चालन गर्नुपर्दछ । सानैदेखि नै यो योगका विषयमा पठनपाठन गराउनु पर्दछ ।
आर्थिक रूपमा समस्या हुँदा कुनै पारिवारिक सम्बन्ध राम्रो भएन, रोजगारी भएन, शिक्षा भएन, पढाइ लेखाइ भएन भन्ने समस्या छन् यो कसरी पार लाग्ला त ?
पहिले संतोषम् परम् सुखम् गीतामा पनि भनिएको छ । कर्म गर तर फलको आशा नगर भनेको छ । यो कुरालाई व्यवहारमा ल्याउन सक्नुपर्यो । मेहनत गर्ने तर सफल भयो भने त राम्रो भएन भने पनि त्यो एउटा प्रयास हो भनेर सन्तोष मान्नुपर्यो । नियमित रूपमा योगा ध्यान गर्ने । कसैको रिस राग नगर्ने ।
भित्रबाट नै प्रेम सम्बन्धको भावना विकास जागृत गराउने । भित्रबाट नै प्रेम सम्बन्ध छ भने यो हत्या हिंसाको अन्त्य हुन्छ । जबसम्म हाम्रो चित्तलाई वृद्धि गरिँदैन, योग ध्यान गरिँदैन । तबसम्म यो बाहिरको प्रेम, हत्या हिंसा सधैँ संसारमा रहन्छ ।
(प्रस्तुति: पुष्पाञ्जली बस्नेत)