देश/प्रदेश

नवलपरासीका मिटर ब्याज पीडितद्वारा माइतीघरमा विरोध प्रदर्शन

By खबरहब

August 03, 2022

काठमाडौँ- नवलपरासी सुस्ताका मिटर ब्याज पीडितहरूले पुन: माइतीघरमा धर्ना दिएका छन् ।

यसअघि गृह मन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगित गरेर घर फर्केका उनीहरूले पुनः काठमाडौँको माइतीघरमा धर्ना दिएका हुन् ।

सरकारसँगको वार्तापछि पनि मिटर ब्याजको समस्या समाधान नभएको भन्दै धर्नामा आउनुपरेको उनीहरूले जनाएका छन् । मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिको अगुवाइमा भएका धर्नामा सहभागीहरूले भूमिहीन बनाइएका किसान–मजदुरको जमिनको तमसुक फिर्ता दिनुपर्ने, ज्यादा लिइएको पैसा फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

नवलपरासी सुस्ताबाट धर्नामा आएका रामसुवक मुसहरले  यसअघि गृह मन्त्रालयसँगको छलफलपछि घर फर्के पनि आफूहरूको समस्या समाधान हुन नसकेको बताए। जमिनको फुकुवा गर्दै तमसुक नदिएका कारण नै दोस्रो पटक धर्ना बस्नुपरेको उनको भनाइ छ ।

पीडितहरूले भूमिहीन बनाइएका किसानहरूको जमिन फिर्ता गरी कानुनले तोके बमोजिमको व्याज बाहेकको सबै रकम क्षतिपूर्ति सहित फिर्ता गर्नुपर्ने जनाएका छन् ।