फाइल तस्बिर

विवाद वडास्तरमै समाधान गरिने

By खबरहब

August 03, 2022

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सबै वडामा मेलमिलाप कक्ष बनाएर न्यायिक समितिमा आउने विवाद वडा तहमै समाधान गर्ने तयारी गरेको छ ।

कामपाको न्यायिक समितिले इजलासबाट न्याय निरूपणका काम थालनी गरेको अवसरमा आयोजित आज कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोलले सो जानकारी गराइन्। “समितिमा आएका उजुरीलाई मेलमिलाप गराउनु नै पहिलो प्रयास हुनेछ”, उपप्रमुख डङ्गोलले भनिन् ।

अहिले न्यायिक समितिमा दुई सय ४२ उजुरी छन् । यीमध्ये एक सय ४४ वटा मुद्दा सरेर आएका हुन् । नेपालको संविधानको धारा २१७ मा न्यायिक समितिसम्बन्धी व्यवस्था गरिएको छ । समितिको कार्यसम्बन्धी व्यवस्था, कर्तव्य र क्षेत्राधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ८ मा व्यवस्था छ ।

समितिले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ अनुसार न्यायिक समितिको क्षेत्राधिकार, दफा ४८ अनुसार अधिकार क्षेत्रको प्रयोग, दफा ४९ अनुसार न्याय सम्पादनका प्रक्रिया सञ्चालन गर्छ । एक वर्ष कैद हुनसक्ने फौजदारी मुद्दा, मेलमिलाप हुनसक्ने देवानी मुद्दा, रु २५ लाख बिगो भएको घर बहाल र घर बहाल सुविधा भएको मुद्दालगायत न्यायिक समितिको जिम्मेवारीमा पर्छन् ।