राजनीति

पार्टीले टिकट दिनेमा विश्वस्त छु : उपसभामुख भुसाल

By खबरहब

September 03, 2022

अर्घाखाँची – उपसभामुख तथा नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफू अर्घाखाँचीबाट उम्मेदवार बन्ने संकेत गरेकी छन् ।

उपसभामुखमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला पुगेकी भुसालले जिल्लाबाट प्रत्यक्ष निर्वाचनको लागि आफूले इच्छा जाहेर गरेको भन्दै स्वाभाविक उम्मेदवारी रहने स्पष्ट पारेकी हुन् ।

युवाहरुलाई अवसर दिने बहानामा पुरानालाई निषेधको राजनीति गरिनु गर्ने भुसालले बताइन् । ‘हो नयाँलाई ठाउँ दिनुपर्छ भन्दाभन्दै पुरानालाई निषेध गर्नुहुँदैन’, भुसालले भनिन ‘नयाँले अवसर पाउनुपर्छ भन्दै गर्दा पुरानाले राजनीतिक इच्छा राख्नु स्वाभाविक हो । उनीहरूको अधिकार कुण्ठित गरिनुहुँदैन ।

टिकट पाउने नपाउने पार्टीको हातमा रहेको भन्दै उपसभामुख भुसालले टिकट पाउनेमा आफू विश्वस्त रहेको बताइन् । ‘पार्टीले टिकट दिनेमा विश्वस्त छु, दिएनछ भने जसले टिकट पाउनुहुन्छ उहाँलाई सहयोग गरेर अगाडी बढ्न तयार छु ।’ भुसालले भनिन् ।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले भुसालको सम्मानमा आयोजना गरेको कार्यक्रममा नेतृ भुसालले गठबन्धनले सिटको बाँडफाँडको अन्तिम टुंगो लगाउने बताइन् ।