फाइल तस्वीर

समाचार

दसैँ बिदामा काठमाडौँ महानगरको निःशुल्क एम्बुलेन्स सेवा

By खबरहब

October 03, 2022

काठमाडौँ- दसैँ बिदाको अवधिभरमा काठमाडौँ महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

दसैँ बिदामा प्राय एम्बुलेन्स सेवा बन्द हुने र सो अवधिमा नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिन थालेको हो ।

महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ ।

यसैगरी महानगरले हाल काठमाडौँसहित देशभरिमा डेङ्गु रोग महामारीकै रूपमा फैलिरहेकाले नागरिकको उपचारका लागि स्वास्थ्य सेवा पनि उपलब्ध गराउने जनाएको छ ।

महानगरले आफ्ना स्वास्थ्य स्वयंसेवक खटाई डेङ्गुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने जनाएको हो ।

यति मात्र नभई दसैँ बिदा अवधिभरमा महानगर पालिकाले पाँच सय ५८ स्वयंसेवक खटाउने भएको छ । उनीहरूले महानगरका नागरिकलाई सिटामोल र जीवनजल वितरण गर्ने योजना बनाइएको छ ।