नेकपा (एमाले) अध्यक्ष केपी ओली । फाइल तस्बिर

राजनीति

एमालेको चुनावी सभा दार्चुलाबाट सुरु हुँदै, ओली भोलि जाँदै

By खबरहब

November 03, 2022

काठमाडौँ – नेकपा एमालेले चुनावी सभा पश्चिम नेपालबाट सुरु गर्ने भएको छ ।

एमालेले दार्चुलाको खलंगामा शुक्रबार चुनावी सभा गरेर अभियान सुरु गर्ने भएको हो । त्यसका लागि एमाले अध्यक्ष केपी ओली शुक्रबार नै दार्चुला जाँदैछन् । उनले शुक्रबार नै बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । ओलीले चुनावी सभामा सहभागी हुन हेलिकोप्टर प्रयोग गर्न एमालेले निर्वाचन आयोगबाट अनुमति लिइसकेका छन् ।

सुदूरपश्चिम पछि ओलीले कर्णालीका सुर्खेत र दैलेखमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन्। त्यसपछि लुम्बिनी पुग्नेछन् । उनी कम्तीमा १८ देखि २७ कात्तिकसम्म जिल्लाका सभाहरूमा सहभागी हुने एमालेले जनाएको छ।

एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार ओलीले ९ दिनमा कम्तीमा ४० जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने गरी प्रारम्भिक कार्यतालिका तय भएको छ।