राजनीति

हेलिकोप्टरमार्फत मतपत्र ढुवानी

By खबरहब

November 03, 2022

मनाङ– मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्लाहरू मनाङ र मुस्ताङमा मतपत्र पुगेका छन् । आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत ती जिल्लामा मतपत्र पुर्‍याइएको हो ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ नौ हजार र समानुपातिकतर्फ नौ हजार मतपत्र ल्याइएको मनाङका जिल्ला निर्वाचन अधिकृत पुष्पराज आचार्यले जानकारी दिए । ‘आज साढे आठ बजे प्रत्यक्ष र समानुपातिक दुवै मतपत्र आइपुगेको छ । कडा सुरक्षा व्यवस्था गरी जिल्ला निर्वाचन कार्यालयमा सुरक्षित साथ राखिएको छ’, आचार्यले भने।

प्रदेशसभा-१ को समानुपातिकतर्फ तीन हजार पाँच सय र प्रदेशसभा-२ का लागि पाँच हजार पाँच सय समानुपातिक मतपत्र आएको उनले बताए। 

गत निर्वाचनमा कुल पाँच हजार आठ सय ८१ मध्ये चार हजार तीन सय ३८ मत खसेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी कुल छ हजार सात सय ७९ मतदाता छन् ।