राजनीति

‘पश्चगामी तीन दलीय गठबन्धनले मुलुक चलाउँदैन’

By खबरहब

November 03, 2022

भैरहवा– गृहमन्त्री बालकृष्ण खाणले नेकपा (एमाले), राप्रपा र जसपाबीचको तीनदलीय गठबन्धन पश्चगामी भएको बताएका छन् । उनले यो गठबन्धनले देश चलाउन नसक्ने दाबी गरेका छन् ।

एकापसमा विचार र सिद्धान्तसमेत नमिल्ने र जनताको सङ्घर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा उभिएका शक्तिहरूबीचको गठबन्धनले मुलुकलाई पश्चगमनतर्फ लैजाने उनले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका खाणले आज भैरहवामा आयोजित तरुण प्रशिक्षण कार्यक्रममा बोल्दै नेपालको राष्ट्रियताको संरक्षण गर्दै मुलुुकलाई अग्रगमनको दिशामा अगाडि बढाउन पाँचदलीय गठबन्धन बनेको बताए । ‘तीनदलीय गठबन्धन प्रतिगमनको पक्षमा छ । प्रतिक्रिया गर्न सक्छ। तर यसले देश चलाउन सक्दैन’, उनले भने। 

पञ्चायतविरुद्ध विसं २०४६ मा र २०६२/६३ मा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउँदा पनि कांग्रेस र वाममोर्चा मिल्दा सफल भएको उल्लेख गर्दै उनले त्यतिबेला नागरिकमाथि दमन गर्नेलाई जनताले राम्रोसँग चिनिसकेको बताए ।

लोकतान्त्रिक गणतन्त्रबाट नै जनता मालिक बनेको उल्लेख गर्दै उनले गणतन्त्रको माध्यमबाट नेपाली नागरिकको अवस्था बदल्न र रोजगारी सिर्जना गरी नेपाली जनतालाई खुसियालीमा बदल्न पनि पाँचदलीय गठबन्धन आवश्यक रहेको जिकिर गरे।

व्यवस्था बचाएर नागरिकको अवस्था बदल्न तथा पाँच वर्षभित्र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न पाँचदलीय गठबन्धनले मात्र सक्ने उनको भनाइ छ । उनले युवामाथि मुलुकले ठूलो भरोसा राखेको बताउँदै युवा ऊर्जाशील भएर उत्पादनमा जोडिनुपर्नेमा जोड दिए। खाणले अग्रगमन र रूपान्तरणको पक्षमा काम गर्न तरुण युवालाई आग्रह गरे ।

कार्यक्रममा पाँचदलीय गठबन्धनका तर्फबाट प्रदेशसभा-३ ९१०का उम्मेदवार सन्तोषकुमार पाण्डेयले युवामा देखिएको उत्साहले पाँचदलीय गठबन्धनको जित सुनिश्चितजस्तै भएको दाबी गरे । उनले देशमै रोजगारीका अवसर सिर्जना गरेर युवालाई आत्मनिर्भर बनाउने स्पष्ट योजना र कार्यान्वयन गर्न सक्ने क्षमता आफूहरूसँग मात्र भएको जिकिर गरे ।

उनले गृहमन्त्री खाण विगतमा तरुण दलको अध्यक्ष भएपछि धेरै युवामा आशाको किरण पलाएको र अहिले पनि मन्त्री खाणले युवाको विश्वासमा कमी आउन नदिएको बताए ।