समाचार

आमाको हत्या गर्ने छोराबाट नै खोजीका लागि प्रहरीमा निवेदन…!

By खबरहब

February 04, 2022

मोरङ– मोरङको पथरीमा हराएको भनिएकी आमाको छोराले नै हत्या गरेको खुलेको छ । पथरी–शनिश्चरे नगरपालिका–२ का ४८ वर्षीय कमल श्रेष्ठ र उनका दाइ (नाम खुलाइएको छैन) ले आमा हराएको भन्दै माघ १४ गते प्रहरीमा निवेदन दिएका थिए । ९० वर्षीय आमा जगमाया श्रेष्ठको खोजतलास गरी दिन उनीहरूले प्रहरीसँग आग्रह गरेका थिए ।

खोजी गर्ने क्रममा प्रहरीले स्थानीयवासीसँग सोधपुछ सुरु ग¥यो । त्यसक्रममा स्थानीयले आमा र छोराबीच जग्गासम्बन्धी विवाद रहेको प्रहरीलाई बताए । सोही ‘सूचना’ का आधारमा कमलसँग केरकार गर्न थालेपछि उनले अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

कमलले माघ १२ गते बिहान आमालाई घाँटी थिचेर हत्या गरेको र त्यसपछि शवलाई नजिकैको सामुदायिक वन क्षेत्रमा जलाएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट जल्न बाँकी शरीरका केही भाग बरामद् गरेको छ । बरामद् शरीरका अंगलाई परीक्षणका लागि काठमाडौँ पठाइएको पनि श्रेष्ठले जानकारी दिए ।

जग्गाको लोभमा हत्या छोराले आमाको हत्या गरेको यो घटनाको मुख्य कारण जग्गा विवाद रहेको छ । बुवाको नाममा रहेको १५ कट्ठा ९ धुर जमिन उनको निधनपछि कमलले गुपचुप तरिकाबाट श्रीमतीको नाममा दर्ता गराइदिएका थिए । यो कुरा थाहा पाएपछि आमा जगमाया र दाइले मुद्दा दायर गरी दिए ।

अदालतले जगमायाको नाममा पाँच कट्ठा जमिन हुने फैसला गरी दियो । सोही कारणले कमलले आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी रहेको छ ।