समाचार

उदयपुरमा हिमपातसँगै जनजीवन प्रभावित

By खबरहब

February 04, 2022

उदयपुर– पश्चिमी न्यूनचापीय प्रणालीको शक्तिशाली प्रभावका कारण वर्षासँगै उदयपुरको उत्तरी भेगमा दशकपछि बाक्लो हिमपात भएको छ । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म वर्षासँगै हिमपात भएको हो ।

हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । उदयपुरको उच्च पहाडी क्षेत्रमा हिउँ परेपछि नजिकको तराई फाँटदेखि पहाडी भेगमा चिसो बढेको छ ।

उदयपुरको सबैभन्दा अग्लो स्थान रौतामाई गाउँपालिका–१ माझखर्क चित्रेथाम र दोबाटेमा बाक्लो हिमपात भइरहेको स्थानीयवासी सरोज थापा मगरले बताए । उनले सामान्य हावाहुरीसँगै हिमपात एकैपटक परेपछि सर्वसाधारणलाई घरबाट बाहिर निस्कन तथा आवतजावतमा समस्या भएको बताए ।

चित्रेथानमा दशक यताकै सबैभन्दा बढी बाक्लो हिमपात भएको बताइएको छ । रौतामाई गाउँपालिका–१ नामेटारको चित्रेथानमा हिउँ खेल्न विभिन्न स्थानबाट सर्वसाधारण आउने क्रम जारी रहेको मगरले बताए ।