समाचार

पाँच महिनापछि बस्दै संवैधानिक इजलास

By खबरहब

March 04, 2022

काठमाडौँ – सर्वोच्च अदालतमा पाँच महिनापछि आज (शुक्रबार) संवैधानिक इजलास बस्ने भएको छ । स‌ंवैधानिक इजलास पछिल्लो पटक १३ असोजमा बसेको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रबार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ भने हरेक बुधबार प्रक्रियामा रहेका मुद्दा हेरिनेछ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन सुरु भएपछि सर्वोच्चमा संवैधानिक इजलास बस्न सकेको थिएन ।

१ फागुनमा जबराविरुद्ध महाभियोग दर्ता भएर उनी निलम्बनमा परेसँगै १० न्यायाधीशबीचको छलफलबाट संवैधानिक इजलास पुनः बस्ने निर्णय भएको हो। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलो पटक संवैधानिक इजलास गठन गर्न लागेका हुन् ।