काठमाडौँ : कुनै पनि क्षेत्रमा परिवर्तन आउनका लागि त्यही क्षेत्रको व्यक्ति नेतृत्वमा पुग्नुपर्छ । अनि मात्रै सो क्षेत्र परिवर्तन मात्रै हुँदैन, विकृति हट्ने र पेशा तथा व्यवसायिकता बलियो बन्ने प्रमाण दूनियाँभर छन् ।
पछिल्लो समय प्रेस काउन्सिल नेपालले गरिरहेका कामको पनि यस्तै चर्चा हुन थालेको छ । प्रेस काउन्सिलको अध्यक्षमा पछिल्लो आठ महिनादेखि बालकृष्ण बस्नेत छन् । जो नेतृत्वमा आएपछि प्रेस काउन्सिल पत्रकारकै हकहितका लागि उत्तरदायी अभिभावकीय संस्था हो भन्ने महसुस पत्रकारलाई हुन थालेको छ ।
सुरुका दिनमा केही निर्णय गर्दा विवाद भएपनि पछिल्लो समयका निर्णय भने परिपक्व मात्रै होइन, पत्रकारकै पेशागत हकहितमा समर्पित रहेको स्वर सुनिन थालेका छन् । जसको पहिलो उदाहरणका रुपमा पत्रपत्रिकाको वर्गीकरणलाई लिनुपर्छ ।
हरेक वर्ष हुनुपर्ने पत्रपत्रिका वर्गीकरण पछिल्लो तीन वर्षदेखि ठप्प थियो । कारण कोरोना महामारी बन्यो । तर बस्नेत काउन्सिलको नेतृत्वमा आएको केही समय सबै अवस्था बुझेर पत्रपत्रिकाको वर्गीकरण गरिदिए ।
वर्गीकरणमा भनसुनभन्दा बढी उनले व्यवसायिकता र पत्रपत्रिकाको अंक तथा कन्टेन्ट हेरेका थिए । त्यही अनुसार निर्णय गर्दा अध्यक्ष बस्नेत राजनीतिक नियुक्त लिएरभन्दा व्यवसायिकताकै आधारमा काउन्सिलको नेतृत्व हाक्न सक्षम रहेको उदाहरण दर्ज भयो ।
यस्तै उनले रोकिएको लोककल्याणकारी विज्ञापन वापतको रकम भुक्तानी दिलाउन पनि सफल भए । त्यति मात्रै होइन पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजनमा प्रकाशित तथा प्रसारित सामग्रीमा गैर व्यवसायिक विषयलाई उनले तुरुन्तै अनुगमनमा राखे । सोही अनुसार गल्ती भेटिएको खण्डमा पनि उनले कारबाही गरे ।
काउन्सिलमा परेका उजुरीको सुनुवाई गर्ने, मिडियाहरुको अनुगमन गर्ने, जिल्लामा आचारसंहिता लागू गर्ने र नयाँ निर्देशिकाहरू जारी गराउन पनि उनी सफल देखिए । यसमा उनको सक्रियता र काउन्सिललाई जिम्मेवार बनाउने भूमिका महत्वपूर्ण छ ।
युट्युबलाई नियन्त्रण र जिम्मेवार बनाउने विषयमा पनि उनी लागिरहेका छन् । यससम्बन्धिको विधेयक सञ्चार मन्त्रालय पुगेपनि त्यो पारित हुने क्रममा छ । पत्रकारले पत्रकारलाई नै पेशाप्रति प्रश्न उठाउने ठाउँ उनले दिएका छैनन । जहाँ उठेको छ, त्यहाँ तुरुन्तै कदम उठाएका छन् । यो सकारात्मक विषय पनि हो ।
गएको साउनमा प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका बस्नेत त्यसयता निरन्तर पत्रकारको हकहितमा सक्रिय छन् । उनले काउन्सिलमा पुराना दिग्गज पत्रकारसँगै युवा जोश र केही सकारात्मक परिवर्तन ल्याउन सफल पत्रकारलाई समेत सदस्य बनाएका छन् ।
२०५२ सालमा छलफल साप्ताहिकबाट पत्रकारितामा होमिएका बस्नेतसँग झण्डै २५ वर्ष लामो पत्रकारिताको अनुभव छ । २०५७ सालमा कान्तिपुर प्रवेश गरेका उनले १९ वर्ष राष्ट्रिय दैनिकको मुलधारमा सक्रिय पत्रकारका रुपमा बिताए । त्यतिबेला नै उनले राष्ट्रिय राजनीतिमा आफ्नो कलम र अनुभव निखारेका थिए ।
दोलखा घर भएका बस्नेतले जिल्लामा पनि केही पत्रिका समेत चलाए । जिल्लामा पत्रकार महासंघको नेतृत्वदायी भूमिका निर्वाह गर्नेदेखि लिएर व्यवसायिक पत्रकारको हितमा उनले आफ्नो अमूल्य समय खर्चिएका छन् ।
केही समयअघि आर्थिक अभाव र अस्पतालको लापरबाहीले पत्रकार एलबी विश्वकर्माको मृत्यु भएपछि अध्यक्ष बस्नेत महासंघभन्दा अगाडि सिभिल अस्पताल पुगेरै घटनाबारे सत्यतथ्य बुझेका थिए । सिभिल अस्पताल नै पुगेर उनले तुरुन्तै सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न आग्रह गरेका थिए ।
पत्रकारलाई समस्या परेको, समस्या भएको र पेशागत हकहितका लागि महासंघकै निर्णय कुर्नुपर्ने नभई राज्यको जिम्मेवार निकायको प्रतिनिधित्वको हिसाबले आफु अगाडि बढेको उनको भनाई थियो ।
यस्ता दर्जनौ काममा उनी पत्रकारको हितमा सक्रिय छन् । पछिल्लो समय उनी अध्यक्ष भएदेखि अनलाइनलाई सुक्ष्म अध्ययन, निगरानी र कारबाही गर्ने काममा खरो उत्रिएका छन् । यस्तै आचारसंहिता मिच्नेलाई उनी तत्कालै कारबाही गर्न तयार देखिन्छन् ।
उनले आचारसंहिता मिच्ने र जथाभावी लेख्ने नेपाल आज डटकम लगायत केही अनलाइनलाई कालोसूचिमै राखेका छन् । योसँगै अर्को एक अनलाइन पनि कालोसूचिमा परेको थियो । पत्रकारको पेशागत मर्यादामा आँच आउन नदिन उनी आफ्नो क्षमता र समयले भ्याएसम्म लागिरहेका छन् ।
कहिलेकाँही आवश्यक निर्णय गर्दा पनि पत्रकारबाटै आलोचना हुने भएपनि यसले काउन्सिललाई जिम्मेवार बनाउने उनको तर्क छ ।
‘पत्रकारितालाई व्यवसायिक बनाउनैका लागि हामी पत्रकारको हक हितमा राम्रो गर्ने प्रयासमा छौँ,’ प्रेस काउन्सिलका अध्यक्ष बस्नेत सारमा भन्छन्, ‘नेतृत्वमा आएदेखि दैनिक पत्रकारिता पेशा र व्यवसायलाई हित हुने काम गर्दै आएका छौँ । गलत काम गर्नेमाथि कारबाही पनि गरेका छौँ । पत्रकारिता पेशा जिम्मेवार भयो भने मात्रै राज्य जिम्मेवार बन्छ । त्यसैले यसमा कही कँतै चुक्न र चुक्न दिने छैनौँ भन्ने उद्देश्य छ ।’