तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

 युक्रेनको बन्दरगाहमा बंगलादेशी पानीजहाजमा आक्रमण, एकको मृत्यु

By खबरहब

March 04, 2022

काठमाडौँ— युक्रेनको तटपारी कृष्ण सागरमा बङ्गलादेशको मालवाहक पानीजहाजमा विस्फोट हुँदा एक जनाको ज्यान गएको छ । पानीजहाजमा बम अथवा क्षेप्यास्त्रबाट आक्रमण हुँदा पानीजहाजको चालक दलका एक सदस्यको मृत्यु भएको हो । कृष्ण सागरकै तटमा रहेको ओल्भिया बन्दरगाहमा राखिएको पानीजहाजमा आक्रमण भएको जनाइएको छ ।

पानीजहाजमा रहेका अरु २८ चालक दलका सदस्य सकुशल रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, युक्रेनको बन्दरगाह शहर ओदेसामा इस्टोनियाको कम्पनीद्वारा सञ्चालित अर्को पानीजहाज पनि डुबेको छ । दक्षिण प्रशान्त क्षेत्रको मुलुक मार्सल टापुको ध्वजावाहक पानीजहाजमा विस्फोट भएपछि चालक दलका दुई सदस्य सानो डुङ्गामा चढेर बच्न सफल भएको जनाइएको छ । घटनामा अरु ४ जना हराइरहेका छन् । पानीजहाजमा चार युक्रेनी, एक रुसी र एक बेलारुसी नागरिक रहेको पानीजहाज सञ्चालक कम्पनीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता तीन वटा पानीजहाजमा क्षति पुगेको छ भने मुख्य पारवहन कम्पनीहरूले युक्रेनको तटपारी कृष्ण सागरमा पानीजहाजको सञ्चालन बन्द गरेका छन् ।