तस्वीर- इपीए

अन्तर्राष्ट्रिय

मोल्दोभाले पनि इयूका लागि आवेदन दिने

By खबरहब

March 04, 2022

काठमाडौँ– युक्रेनसँग सीमा जोडिएको मुलुक मोल्दोभाले युरोपेली युनियनमा सदस्यताका लागि आवेदन दर्ता गराएको छ ।

रुसी फौजले युक्रेनमाथि आक्रमण शुरु गरेको एक सातापछि मोल्दोभाले ईयू सदस्यताका लागि आवेदन दिएको हो । मोल्दोभाकी राष्ट्रपति माया सन्दुले विज्ञप्ति जारी गर्दै इयू सदस्यताका लागि आग्रह गरिएको जानकारी दिएकी हुन् ।

‘हामी शान्ति समृद्धिका साथ बाँच्न चाहन्छौँ, स्वतन्त्र विश्वको हिस्सा हुन चाहन्छौँ ।’ विज्ञप्तिमा उल्लेख छ, ‘केही निर्णय हुन समय लाग्नसक्छ, तर अरु निर्णयहरु तत्काल र निर्णायक रुपमा लिइनुपर्छ र बदलिँदो विश्वले प्रदान गर्ने अवसरको सदुपयोग गरिहाल्नुपर्छ ।’

केही दिनभित्रै आवेदनको औपचारिक पत्र ब्रसेल्स पठाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सोभियत सङ्घबाट सन् १९९१ मा स्वतन्त्र भएयता मोल्दोभामा रुस पक्षका र युरोपेली पक्षका राजनीतिक नेताहरूबीच तीब्र ध्रुवीकरण हुँदै आएको छ । मोल्दोभा युरोपेली महादेशकै सबैभन्दा गरिब मुलुक मानिन्छ ।