काठमाडौं- तालिबानको नेतृत्वमा रहेको अफगान कार्यवाहक सरकारले अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्किन आह्वान गरेको छ । सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारले अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्कन आह्वान गरेका हुन् ।
उनले काबुलमा आयोजित अफगानिस्तान राष्ट्रिय निजी क्षेत्र सम्मेलनमा यस्तो आह्वान गरेको तालिबान सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ ।
‘लगानीकर्ता र उनीहरूको सम्पत्तिको सुरक्षाको प्रत्याभूति गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ । ‘अन्तर्राष्ट्रिय नाकाबन्दीहरू दिनप्रतिदिन खुकुलो हुँदै गइरहेको छ र उद्योग, व्यापार र लगानीमा थप सुविधा दिने प्रयास भइरहेको छ, आर्थिक अवस्था सुधार्ने प्रयास भइरहेको छ ।’
विश्व बैंकको सञ्चालक समितिले गत मंगलबार अफगानिस्तान पुनर्निर्माण ट्रस्ट कोषको १ अर्ब अमेरिकी डलर स्थिर नराख्ने निर्णय गरेको थियो । गत अगस्ट १५, २०२१ मा तालिबानले कब्जा गरेपछि सो रकम फ्रिज गरिएको थियो ।
अफगानिस्तानको केन्द्रीय दा अफगानिस्तान बैंक (डिएबी) ले विश्व बैंकको यो कदमलाई सद्भावनाको रुपमा स्वागत गर्दै विश्व वित्तीय संस्थासँग थप सहकार्यका लागि आह्वान गरेको छ ।