अन्तर्राष्ट्रिय

विश्वभर आजः यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

March 04, 2022

आज फागुन २०, २०७८ l अंग्रेजी क्यालेन्डर अनुसार मार्च ४, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

पाकिस्तानमा बम विष्फोट, ३० मारिए

उत्तरपश्चिम पाकिस्तानको पेशावर शहरमा गराइएको बम आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । पेशावर शहरस्थित शिया मुसलमानहरुको मस्जिदलाई लक्षित गरी आक्रमण गराइएको हो ।

कुचा रिसाल्दार मस्जिदमा शुक्रबारको नमाज पढ्न भेला भएकाहरूलाई लक्षित गरी भएको बम आक्रमणमा अरु दर्जनौं घाइते भएको अल जजीराले जनाएको छ । मस्जिदमा बम विष्फोट हुनुअघि दुई बन्दुकधारीले मस्जिदबाहिर पहरा दिइरहेका सुरक्षाकर्मीमाथि अन्दाधुन्ध गोली चलाएको स्थानीय अधिकारीले जनाएका छन । दोहोरो गोली हानाहानमा एक बन्दुकधारी र एक प्रहरीको मृत्यु भएको छ ।

आक्रमणको समयमा मस्जिदमा १५० जना जति श्रद्धालु उपस्थित रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणको हालसम्म कुनै समूहले पनि जिम्मा लिइसकेको छैन । यद्यपि पाकिस्तानमा सक्रिय तहरिक ए तालिबान पाकिस्तान र इस्लामिक स्टेट लगायतका आतंकवादी समूहहरूले पाकिस्तानमा यस्ता साम्प्रदायिक आक्रमण गराउँदै आएका छन् ।

युक्रेनी परमाणु केन्द्र रुसी कब्जामा

युक्रेनमाथि आक्रमण गरिरहेको रुसले शुक्रबार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ । यो परमाणु केन्द्र युरोपकै सवैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणका लागि युक्रेन आएका रुसी सुरक्षाकर्मीहरुले परमाणु केन्द्रमा बम प्रहार गरेका थिए ।

बम आक्रमणका कारण परमाणु कोन्द्रमा आगलागीसमेत भएको थियो । त्यसपछि उनीहरुले त्यसलाई नियन्त्रणमा लिएका हुन् । रुसी सैनिकहरूले जापोरिज्या परमाणु केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले नै पुष्टि गरेका हुन् । रुसी आक्रमणका कारण उक्त केन्द्रस्थित एउटा पाँचतले भवनमा आगो लागेको थियो ।

कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन् भने उनीहरुले कामलाई निरन्तरता पनि दिइरहेका छन् ।युक्रेनको आपतकालीन सेवा प्रदान गर्ने निकायले जापोरिज्यास्थित परमाणु केन्द्रमा लागेको आगो निभाइएको पुष्टि गरेको छ ।

लक्ष्य प्राप्त गरिछाड्ने पुटिनको दृढता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लक्ष्य प्राप्त गर्ने बताएका छन्। उनका फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँगको कुराकानी गर्दै उनले उद्देश्य प्राप्त गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ।

कुराकानीका क्रममा पुटिनले युक्रेनलाई असैनिकृत र तटस्थ बनाइदिने आफ्नो उद्देश्य प्राप्त हुने दाबी गरेका हुन्।

युक्रेनले वार्ताका लागि ढिलाई गर्दा रुसका माग बढ्दै जाने चेतावनीसमेत पुटिनले दिएका छन्। टेलिफोनमा भएको कुराकानीमा पुटिनले यस्तो बताएको समाचारमा उल्लेख गरिएको छ। युक्रेनले गरेको वार्ताको ढिलाइले रुसका मागहरू बढ्दै जाने पुटिनले बताएका हुन्।

साथै पुटिनले बुधवार माक्रोँले गरेको एक सम्बोधनप्रति आफ्नो विमति जनाएका थिए।सो सम्बोधनमा माक्रोँले युद्ध सुरु गर्न केवल पुटिनमात्र जिम्मेवार रहेको बताएका थिए। एक साताअघि सैनिक आक्रमण गरेयता रुसले युक्रेनका केही महत्वपूर्ण सहर कब्जामा लिइसकेको छ।

ताइवानमा चीनविरुद्ध विशाल प्रदर्शनको तयारी

तिब्बती तथा अन्य अधिकार समूहहरुले चीनविरुद्ध प्रदर्शन गर्ने भएका छन् । ताइवानको राजधानी ताइपेईस्थित संसद्भवन अगाडि पत्रकार सम्मेलन गर्दै चिनियाँ अत्याचारविरुद्ध आगामी मार्च १० मा प्रदर्शन गर्ने जानकारी दिइएको हो ।

तिब्बती आन्दोलन दिवसको मौका पारेर प्रदर्शन गर्न लागिएको हो । पत्रकार सम्मेलनमा तिब्बती धर्मगुरु दलाई लामाको कार्यालयका प्रतिनिधि केल्साङ ग्यात्सेन बावा र ताइवानको सत्तारुढ डेमोक्र्याटिक प्रोगेसिभ पार्टी डीपीपीका सांसद्हरु डा. लिन चिङ–यी, हुङ् सुन–हान तथा न्यु पावर पार्टीका सांसद् क्लारी वाङको सहभागिता थियो ।

सन् १९५९ मा चिनियाँ कम्युनिष्ट पार्टीको शासनविरुद्ध तिब्बतको राजधानी ल्हासामा भएको शान्तिपूर्ण प्रदर्शनको मौका पारी विश्वभर तिब्बती आन्दोलन दिवस मनाउने गरिन्छ । त्यसबाहेक शनिबार पनि ताइपेइमा विशाल प्रदर्शनको तयारी भइरहेको छ भने बुधबारमात्रै साइकल र्‍याली आयोजना गरिएको थियो ।

युक्रेनी राष्ट्रपतिमाथिका तीन हत्या प्रयास असफल

पछिल्लो एक सातामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको तीन पटक हत्या प्रयास भएको खुलासा भएको छ । बेलायतको द टाइम्स अखबारले यस्तो दाबी गर्दै समाचार छापेको हो । सनसनीपूर्ण खुलासाअनुसार रुसी गुप्तचर एजेन्सीले नै युक्रेनी राष्ट्रपतिको हत्या प्रयास विफल बनाएको बताइएको छ ।

रुसी गुप्तचर एजेन्सी एफएसबीका वरिष्ठ अधिकारीहरु आफैँ युक्रेन युद्धको विपक्षमा रहेकाले उनीहरुकै सहयोगमा उनको हत्या प्रयास असफल भएको समाचारको दाबी छ ।

यसअघि आएका समाचारमा रुसले युक्रेनी राष्ट्रपतिको हत्या गर्न रुसले वाग्नर ग्रुप नामक निजी सैनिक कम्पनीका भाडाका ४ सय लडाकु परिचालन गरेको जनाइएको थियो । युक्रेनी सुरक्षा अधिकारीहरुले पनि जेलेन्स्कीको हत्या प्रयास विफल बनाइएको बताउँदै आएका छन् ।

 पुटिनको हत्या गर्न अमेरिकी सिनेटरको आह्वान

अमेरिकी सिनेटर लिन्जी ग्राहमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्न आह्वान गरेका छन् । उनले रुसका सैनिक अधिकारीहरुलाई लक्षित गरी ट्वीट गर्दै राष्ट्रपति पुटिनको हत्या गर्न आह्वान गरेका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘रुसमा कोही ब्रुटस छ ?’ । मार्कस जुनियस ब्रुटसलाई प्रथम रोमन सम्राट जुलियस सिजरको हत्यको षड्यन्त्र गर्ने प्रमुख व्यक्ति मानिन्छ । उनले ट्वीट गरेका छन् । ‘कोही कर्नेल स्टाउफेनबर्ग भन्दा सफल छ ?’ कर्नेल क्लन भोन स्टाउफेनबर्गले दोश्रो दोश्रो विश्वयुद्धको अन्त्यतिर सन् १९४४ मा नाजी तानाशाह हिटलरको असफल हत्या प्रयास गरेका थिए ।

‘यो सबको अन्त्य गर्ने एउटामात्रै उपाय उनलाई सिध्याउनु हो । तपाईँले तपाईको देश र विश्वका लागि ठूलो योगदान दिनुहुनेछ ।’ उनको ट्वीटमा उल्लेख छ ।

 भारतद्वारा युक्रेनमा फसेका आफ्ना १० हजार ८ सय नागरिकको उद्धार

भारतले युक्रेनमा जारी युद्धमा फसेका आफ्ना १० हजार ८ सय नागरिकलाई स्वदेश फिर्ता गरेको छ । अपरेशन गंगाको नामबाट भारतीय नागरिकलाई स्वदेश फिर्ता गरिएको भारतको केन्द्र सरकारले जनाएको छ ।

भारतीय वायुसेनाका तीन सी–१७ विमान तथा १४ नागरिक उडानबाट भारतीयहरूलाई स्वदेश ल्याइएको हो । भारत सरकारका अनुसार भारतीय वायुसेनाका सी–१७ विमानले ६ सय ३० तथा अन्य नागरिक उडानबाट ९ हजार ३ सय ६४ भारतीय नागरिकलाई उद्धार गरेको हो ।

यसबाहेक भारतले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई ९.७ टन राहत सामग्री समेत पठाएको जनाइएको छ । केही दिनअघिमात्रै पूर्वी युक्रेनको खार्किब शहरमा भएको गोलाबारीका क्रममा एक भारतीय नागरिकले ज्यान गुमाएपछि भारत सरकारले आफ्ना नागरिकको उद्धारमा तदारुकता देखाएको हो ।

 युक्रेनको तटपारी बंगलादेशी पानीजहाजमा विष्फोट, एकको मृत्यु

युक्रेनको तटपारी कृष्ण सागरमा बङ्गलादेशको मालवाहक पानीजहाजमा विस्फोट हुँदा एक जनाको ज्यान गएको छ । पानीजहाजमा बम अथवा क्षेप्यास्त्रबाट आक्रमण हुँदा पानीजहाजको चालक दलका एक सदस्यको मृत्यु भएको हो । कृष्ण सागरकै तटमा रहेको ओल्भिया बन्दरगाहमा राखिएको पानीजहाजमा आक्रमण भएको जनाइएको छ ।

पानीजहाजमा रहेका अरु २८ चालक दलका सदस्य सकुशल रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, युक्रेनको बन्दरगाह शहर ओदेसामा इस्टोनियाको कम्पनीद्वारा सञ्चालित अर्को पानीजहाज पनि डुबेको छ । दक्षिण प्रशान्त क्षेत्रको मुलुक मार्सल टापुको ध्वजावाहक पानीजहाजमा विस्फोट भएपछि चालक दलका दुई सदस्य सानो डुङ्गामा चढेर बच्न सफल भएको जनाइएको छ । घटनामा अरु ४ जना हराइरहेका छन् ।

पानीजहाजमा चार युक्रेनी, एक रुसी र एक बेलारुसी नागरिक रहेको पानीजहाज सञ्चालक कम्पनीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता तीन वटा पानीजहाजमा क्षति पुगेको छ भने मुख्य पारवहन कम्पनीहरूले युक्रेनको तटपारी कृष्ण सागरमा पानीजहाजको सञ्चालन बन्द गरेका छन् ।

मोल्दोभाले पनि इयूको सदस्यताका लागि आवेदन दिने

युक्रेनसँग सीमा जोडिएको मुलुक मोल्दोभाले युरोपेली युनियनमा सदस्यताका लागि आवेदन दर्ता गराएको छ ।

रुसी फौजले युक्रेनमाथि आक्रमण शुरु गरेको एक सातापछि मोल्दोभाले ईयू सदस्यताका लागि आवेदन दिएको हो । मोल्दोभाकी राष्ट्रपति माया सन्दुले विज्ञप्ति जारी गर्दै इयू सदस्यताका लागि आग्रह गरिएको जानकारी दिएकी हुन् ।

‘हामी शान्ति समृद्धिका साथ बाँच्न चाहन्छौँ, स्वतन्त्र विश्वको हिस्सा हुन चाहन्छौँ ।’ विज्ञप्तिमा उल्लेख छ, ‘केही निर्णय हुन समय लाग्नसक्छ, तर अरु निर्णयहरु तत्काल र निर्णायक रुपमा लिइनुपर्छ र बदलिँदो विश्वले प्रदान गर्ने अवसरको सदुपयोग गरिहाल्नुपर्छ ।’

केही दिनभित्रै आवेदनको औपचारिक पत्र ब्रसेल्स पठाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सोभियत सङ्घबाट सन् १९९१ मा स्वतन्त्र भएयता मोल्दोभामा रुस पक्षका र युरोपेली पक्षका राजनीतिक नेताहरूबीच तीब्र ध्रुवीकरण हुँदै आएको छ । मोल्दोभा युरोपेली महादेशकै सबैभन्दा गरिब मुलुक मानिन्छ ।

 पश्चिमा मुलुकले धमाधम रुसी धनाढ्यका पानीजहाज नियन्त्रणमा लिन थाले

पश्चिमा मुलुकहरूले रुसी धनाढ्यहरुको आलिशान निजी पानीजहाज धमाधम नियन्त्रणमा लिन थालेका छन् । फ्रान्सले रुसी तेल कम्पनी रोज्नेफ्टका मालिक इगोर शेइनको पानीजहाज फ्रान्सको बन्दरगाह शहर मार्सेको तटबाट नियन्त्रणमा लिएको जनाएको छ ।

यसअघि जर्मनीले पनि अर्का रुसी धनाढ्यको पानीजहाज नियन्त्रणमा लिएको जनाएको थियो । फ्रान्सेली अधिकारीहरुले बुधबार शेइनको ८८ मिटर लामो पानीजहाजलाई नियन्त्रणमा लिएका हुन् । ‘अमोर भेरो’ अर्थात् ‘चोखो माया’ नाम गरेको यो पानीजहाज फ्रान्सेली जलक्षेत्रबाट भाग्नै लागेका बेला नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि जर्मन अधिकारीहरुले पनि हामबर्गको बन्दरगाहबाट अर्का रुसी धनाढ्य धातु उद्यमी अलिशेर उस्मानोभको ‘दिलबर’ नाम गरेको पानीजहाजलाई नियन्त्रणमा लिएको जनाएका थिए । ६० करोड अमेरिकी डलर पर्ने यो पानीजहाज मोटरबाट  चल्ने संसारकै सबैभन्दा ठूलो पानीजहाज रहेको अमेरिकी आर्थिक अखबार फोब्र्सले जनाएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा मुलुकहरुले रुसी धनाढ्यलाई एकपछि अर्को गरी नाकाबन्दी र प्रतिबन्ध लगाउन थालेपछि अहिले रुसी धनाढ्यहरूलाई आफ्नो पानीजहाजलाई मालदिभ्सतिर भगाउन खोजिरहेको जनाइएको छ । बीबीसीका अनुसार ५ रुसी धनाढ्यका पानीजहाज अहिले मालदिभ्स लागेका छन् ।

मालदिभ्ससँग अमेरिकाको सुपुर्दगी सन्धि नभएका कारण रुसी धनाढ्यहरुले आफ्ना पानीजहाज मालदिभ्सतिर भगाएको बीबीसीले जनाएको छ ।

चीनमा कोरोना भाइरसका संक्रमित बढे

चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । स्वास्थ्य अधिकारीहरुका अनुसार बिहीबारमात्रै चीनमा कोरोना भाइरसका ६१ जना नयाँ सङ्क्रमित देखिएका हुन् ।

तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि जानकारी दिइएको हो । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार चीनमा शनिबार मात्र ८० जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये ६५ जना चीनभित्रैका नागरिकमा पाइएको हो ।

त्यहाँका स्थानीय नागरिकहरुबाटै उनीहरु सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ । हेबेइ, ग्वांगोग र जिलिनमा ती सङ्क्रमित पाइएका हुन् । पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।

चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।उत्तरी चीनको हुवे प्रान्तमा पछिल्लो समयमा सङ्क्रमितहरु बढेको पाइएको छ । यसबाट यस क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ ।