फाइल फोटो

अन्तर्राष्ट्रिय

रुसमाथि थप प्रतिबन्ध लगाएर स्थिति अरु खराब नगर्न पुटिनको चेतावनी

By खबरहब

March 04, 2022

एजेन्सी– युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरूलाई रुसका राष्ट्रपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् ।

उनले रुसमाथि थप प्रतिबन्धहरू लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिकासहितका पश्चिमा देशहरूलाई चेतावनी दिएका हुन् । पुटिनले एक सरकारी बैठकलाई सम्बोधन गर्ने क्रममा यस्तो चेतावनी दिएका छन् । जसलाई रूसको सरकारी टेलिभिजन रोसया २४ मा प्रत्यक्ष प्रसारण गरिरहेको थियो ।

सम्बोधनमा पुटिलले दाबी गरे ‘छिमेकीविरुद्ध हाम्रो कुनै गलत मनसाय छैन ।’ उनले दुई देशबीचको सम्बन्धलाई थप खराब गर्ने गरी युक्रेनले कुनै कदम अघि नबढाउनेमा आफूहरू विश्वस्त रहेको बताए ।

उनले भने, ‘मलाई लाग्छ सबैले अब यस बारेमा सोच्न आवश्यक छ कि सम्बन्ध सामान्य कसरी हुने छ, सामान्य रूपमा एक अर्काको मद्दत रहोस् र सम्बन्धमा सुधार आओस ।’ रुसी सेनाको कारबाही रुसविरुद्धको केही कारबाहीको जवाफ भएको पुटिनले बताए ।