समाचार

७ सय ४७ वटा स्थानीय तहको मतपत्र वैशाख १८ गतेसम्म छापिसक्ने 

By खबरहब

April 04, 2022

काठमाडौँ – निर्वाचन आयोगले ७ सय ४७ वटा स्थानीय तहको मतपत्र वैशाख १८ गतेसम्म छापिसक्ने भएको छ । बाँकी ६ वटा महानगरपालिकाको मतपत्र २२ गतेसम्म छापिसक्ने आयोगको तयारी छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आयोगले मतपत्र छाप्न सुरु गरिसकेको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्रीले देशभर एकसाथ हुने निर्वाचनका लागि मतपत्र छपाइको काम गरिरहेको छ ।

विभिन्न राजनीतिक दलले आफ्ना उम्मेदवार मनोनयन गर्नुअघि जिल्ला–जिल्लामा मतपत्र पठाइसक्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार मुख्य–मुख्य राजनीतिक दलको चिन्ह समेटेर बनाइएको मतपत्र सुरुमा जिल्लाका ठूला स्थानीय तहमा बाहेक अरू ठाउँमा पठाइने छ। निर्वाचनमा बढी मतदाता हुने स्थानीय तहमा केही दिन मात्र मतपत्र छपाइमा ढिलो हुनेछ ।

मतपत्रलाई रुजु गर्नुपर्ने भएकाले निर्वाचन हुनु दुई साताअघि मतपत्र पठाइसक्नुपर्ने अर्यालले बताए। आयोगले २ करोड मतपत्र छाप्ने छ।