तस्वीर- एपी

अन्तर्राष्ट्रिय

४२ लाख शरणार्थीले युक्रेन छाडे

By खबरहब

April 04, 2022

काठमाडौं- युक्रेनमाथि रुसी हमला भएपछि अहिलेसम्म ४२ लाख युक्रेनीले देश छोडेको संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय युएनएचसीआरले जनाएको छ । विज्ञप्ति जारी गर्दै युएनएचसीआरले यस्तो जानकारी दिएको हो ।

युएनएचसीआरका अनुसार पछिल्लो २४ घन्टामा मात्र ४० हजारले देश छाडेका छन् । पछिल्ला पाँच सातामा ४१ लाख ७६ हजार ४०१ युक्रेनीले देश छाडेको युएनएचसीआरले जनाएको छ ।

देश छाड्नेहरूमध्ये ९० प्रतिशत महिला तथा बालबालिका रहेको जनाइएको छ । सरकारले १८ देखि ६० वर्षका पुरुषलाई सैन्य भर्नाका लागि आह्वान गरेकाले उनीहरूले चाहेर पनि देश छाड्न नपाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यससँगै छिमेकी मुलुकहरु पोल्याण्ड, हंगेरी रोमानियामा युक्रेनी शरणार्थीको चाप अत्यधिक बढेको बताइएको छ ।