तस्वीर- एपी

अन्तर्राष्ट्रिय

खार्किभमा रुसी सेनाको आक्रमणमा ७ जनाको मृत्यु

By खबरहब

April 04, 2022

काठमाडौं- युक्रेनको दोस्रो ठूलो सहर खार्किभको आवासीय क्षेत्रमा रुसी सेनाको हमलामा सात जनाको मृत्यु भएको छ । हमलामा कम्तीमा ३४ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार साँझ ६ बजे रुसी आक्रमणकारीहरूले खार्किभको स्लोबोडा जिल्लामा रहेका आवासीय भवनहरूमा गोलाबारी गरेका थिए । गोलाबारीमा करिब १० घर र एउटा ट्रलीबस डिपोमा क्षति भएको जनाइएको छ । 

‘हमलामा सात जनाको मृत्यु भएको र तीन बालबालिकासहित ३४ जना घाइते भएका छन्’, खार्किभको क्षेत्रीय अभियोजकको कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

रुसको सिमानानजिक रहेको उत्तर–पूर्वी युक्रेनको खार्किभमा २४ फेब्रुवरीमा रुसी सेनाले हमला गरेपछि ठूलो क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी सेनाले युक्रेन आक्रमणको आकार घटाउने बताए पनि गोलाबारी नरोकिएको युक्रेनी पक्षले जनाएको छ ।