अपराध

विवाहको प्रलोभन देखाई ४२ लाखभन्दा बढी ठगी गर्ने एक जना पक्राउ

By खबरहब

April 04, 2022

काठमाडौँ– विवाहको प्रलोभन देखाई ठगी गरेको आरोपमा काठमाडौँमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले नविन भनिने ५२ वर्षीय लोकबहादुर श्रेष्ठलाई विशालनगरबाट पक्राउ गरेको हो ।

हाल काठमाडौँको धापासी बस्दै आएका रामेछाप साँघुटार–३ का श्रेष्ठले ४२ लाख ३४ हजार रुपैयाँ पीडितबाट ठगी गरेको आरोप छ ।

उनले पीडितलाई विवाह गर्ने प्रलोभन देखाएर कहिले आफू बिमारी परेको त कहिले झारफुकका लागि भन्दै सो रकम पठाउन लगाएर ठगी गरेको प्रहरीले जनाएको छ ।

पीडितले पटक–पकट गरी आईएमई र सिटीएक्सप्रेसमार्फत् श्रेष्ठलाई रकम पठाएकी थिइन् । अभियुक्त श्रेष्ठलाई पक्राउ गरी ठगी कसुरअन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।