अन्तर्राष्ट्रिय

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

By खबरहब

April 04, 2022

अडियो सुन्नुहोस्ः

श्रीलंकामा मन्त्रीहरूबाट सामूहिक राजीनामा आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको चरम अभाव ब्यहोरिरहेको श्रीलंकाका सम्पूर्ण मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । चरम आर्थिक संकटप्रति असन्तुष्ट सर्वसाधारणहरूले प्रदर्शन गरिरहेका बेला २६ जना मन्त्रीहरूको सामूहिक राजीनामा आएको हो ।

तर, प्रधानमन्त्री महिन्द्र राजापाक्षेले भने राजीनामा दिएका छैनन् । सरकारले लगाएको कर्फ्युको उल्लंघन गर्दै सर्वसाधारणले सडकमा प्रदर्शन गरेका थिए । श्रीलंकाले सन् १९४८ स्वतन्त्र भएपछिकै सबैभन्दा खराब आर्थिक संकट सामना गरिरहेको छ ।

खाद्यान्न औषधि जस्ता अत्यावश्यक वस्तुको अभाव छ । छपाई कागजको अभावमा सरकारले परीक्षासमेत स्थगित गरेको छ । त्यहाँ दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ हुने गरेको छ । यसैबीच श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले पनि पदबाट राजीनामा दिएका छन् । बिग्रँदै गएको आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेका बेला गभर्नर अजित काब्रालले सोमबार पदबाट राजीनामा दिएका हुन् । यसअघि श्रीलंकाको मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका थिए ।

श्रीलंकाली राष्ट्रपतिको आह्वान

चरम आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षले देशका सबै राजनीतिक दलहरूलाई सरकारमा सहभागी हुन आह्वान गरेका छन् । राष्ट्रिय संकटको समाधान खोज्नका लागि एकजुट भएर काम गर्न भन्दै उनले मुलुकका सबै दललाई सरकारमा सहभागी हुन आमन्त्रण गरेका हुन् ।

आह्वानपत्रमा राष्ट्रपतिले वर्तमान संकट धेरै आर्थिक र विश्वव्यापी चिन्ताको परिणाम भएको र यसलाई देशको लोकतान्त्रिक प्रक्रिया भित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

‘एसियाको एक अग्रणी लोकतन्त्रका भएका नाताले यो संकटलाई लोकतन्त्रको ढाँचामा नै सम्बोधन गर्न आवश्यक छ,’ पत्रमा भनिएको छ, ‘नागरिक र भावी पुस्ताको हितमा राष्ट्रिय हितमा मिलेर काम गर्नुपर्छ।’

श्रीलंका हाल खाद्यान्न र इन्धन अभावको साथ गम्भीर आर्थिक संकटसँग लडिरहेको छ। कोभिड–१९ को महामारीको सुरुवातदेखि नै श्रीलंकाको अर्थतन्त्र धरापमा छ ।

नयाँ सरकार गठन गर्नका लागि सरकारमा सहभागी सबै २६ जना मन्त्रीहरूले मार्ग प्रशस्त गर्दै राजिनामा दिन सहमति जनाएको श्रीलंकाको अङ्ग्रेजी भाषाको पत्रिका डेली मिररले उल्लेख गरेको छ।

सरकारले शनिबार फेसबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएप, युट्युब लगायतका सामाजिक मिडिया प्लेटफर्महरूको पहुँचमा रोक लगाएको थियो तर आइतबार दिउँसोबाट प्रतिबन्धलाई हटाइएको थियो ।

यसअघि शनिबार भारतले श्रीलंकालाई ४० हजार मेट्रिक टन डिजेल पठाएको थियो जसमा श्रीलंकाको विद्युत् सङ्कटलाई कम गर्ने ठानिएको थियो ।यसबाहेक भारतले पछिल्लो ५० दिनमा श्रीलंकालाई करिब २ लाख मेट्रिक टन इन्धन आपूर्ति गरेको जनाइएको छ ।

यसैबीच श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षले चार मन्त्रीहरू नियुक्त गरेका छन् । बढ्दो आर्थिक संकट र अत्यावश्यक वस्तुको अभाव झेल्न संघर्षरत राष्ट्रपति राजापाक्षले नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

यसअघि उनको मन्त्रिमण्डलका सबै मन्त्रीहरूले राजीनामा दिएका थिए । राष्ट्रपतिले संसद्मा सहभागी सबै दलहरूलाई सरकारमा समावेश हुन आह्वान गरेसँगै नयाँ मन्त्रीहरू नियुक्त गरिएको हो । उनीहरूको शपथ ग्रहण पनि भइसकेको बीबीसीले जनाएको छ ।

नयाँ मन्त्रिमण्डलमा राष्ट्रपति राजापाक्षले आफ्ना भाइ तथा निवर्तमान वित्तमन्त्री बासिल राजापाक्षलाई भने समावेश नगराएको बताइएको छ । उनको स्थानमा अली साबरीलाई वित्तमन्त्री नियुक्त गरिएको छ ।

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावका कारण श्रीलंकामा आन्दोलन र प्रदर्शन चर्किएसँगै त्यहाँ आपतकाल लागू गरिएको छ । यद्यपि यसका बावजुद प्रदर्शन भने जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

केही प्रदर्शनकारीले भने श्रीलंकाली राजनीतिमा राजापाक्ष परिवारको हालीमुहाली बन्द हुनुपर्ने समेत माग गरेको बीबीसीले जनाएको छ ।

युक्रेनमा सामूहिक चिहान फेला

युक्रेनमाथि आक्रमण गरिरहेको रुसी सेना राजधानी किभ नजिकका क्षेत्रबाट फर्किएसँगै त्यहाँ सयौँ शव फेला परेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार किभ नजिकैको बुचा शहरमा तीन सयभन्दा धेरै शव गाडिएका सामूहिक चिहान फेला परेका हुन् ।

फेला परेका धेरै शवमा विभत्स हत्या भएको संकेत मिलेको जनाइएको छ । केहीको हात पछाडि बाँधिएको र टाउकोमा गोली लागेको थियो । रुसी सेनाले सहर छोडेपछि विभत्स हत्या भएका शव धमाधम फेला परेको बेलायतबाट प्रकाशित हुने गार्जियन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

बुचा शहरका मेयर अनातोली फेदोरुकले समाचार संस्था एएफपीलाई बताएअनुसार मारिनेमध्ये धेरैको शरीरका धेरै अङ्गमा घाउ देखिएको छ ।

रुसी सेनाको गैरन्यायिक हत्याको शिकारमा सयौँ सर्वसाधारण परेका छन् । मस्कोले युद्ध अपराध गरेको युक्रेनी अधिकारीहरूले बताउँदै आएका छन् । 

तर, ती घटनाहरूमा आफ्नो संलग्नता नभएको रुसी सेनाले बताउँदै आएको छ । रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका सबै तस्वीर र भिडियो उत्तेजना फैलाउने खालका भएका र बुचामा कुनै पनि बासिन्दाले रुसी सेनाको हातबाट हिंसा भोग्नु नपरेको दाबी गरेको छ ।

खार्किभमा रुसी हमलाका कारण ७ जना मारिए

युक्रेनको दोस्रो ठूलो सहर खार्किभको आवासीय क्षेत्रमा रुसी सेनाको हमलामा सात जनाको मृत्यु भएको छ । हमलामा कम्तीमा ३४ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार साँझ ६ बजे रुसी आक्रमणकारीहरूले खार्किभको स्लोबोडा जिल्लामा रहेका आवासीय भवनहरूमा गोलाबारी गरेका थिए । गोलाबारीमा करिब १० घर र एउटा ट्रलीबस डिपोमा क्षति भएको जनाइएको छ । 

‘हमलामा सात जनाको मृत्यु भएको र तीन बालबालिकासहित ३४ जना घाइते भएका छन्’, खार्किभको क्षेत्रीय अभियोजकको कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

रुसको सिमानानजिक रहेको उत्तर–पूर्वी युक्रेनको खार्किभमा २४ फेब्रुअरीमा रुसी सेनाले हमला गरेपछि ठूलो क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी सेनाले युक्रेन आक्रमणको आकार घटाउने बताए पनि गोलाबारी नरोकिएको युक्रेनी पक्षले जनाएको छ ।

युक्रेनबाट ४२ लाख शरणार्थी पलायन

युक्रेनमाथि रुसी हमला भएपछि अहिलेसम्म ४२ लाख युक्रेनीले देश छोडेको संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय युएनएचसीआरले जनाएको छ । विज्ञप्ति जारी गर्दै युएनएचसीआरले यस्तो जानकारी दिएको हो ।

युएनएचसीआरका अनुसार पछिल्लो २४ घन्टामा मात्र ४० हजारले देश छाडेका छन् । पछिल्ला पाँच सातामा ४१ लाख ७६ हजार ४०१ युक्रेनीले देश छाडेको युएनएचसीआरले जनाएको छ ।

देश छाड्नेहरूमध्ये ९० प्रतिशत महिला तथा बालबालिका रहेको जनाइएको छ । सरकारले १८ देखि ६० वर्षका पुरुषलाई सैन्य भर्नाका लागि आह्वान गरेकाले उनीहरूले चाहेर पनि देश छाड्न नपाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यससँगै छिमेकी मुलुकहरू पोल्याण्ड, हंगेरी रोमानियामा युक्रेनी शरणार्थीको चाप अत्यधिक बढेको बताइएको छ ।

क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी स्याक्रामेन्तो शहरमा बन्दुकधारीले जथाभावी गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । स्याक्रामेन्तोकी प्रहरी प्रमुख क्याथरिन लेस्टरका अनुसार गोलीकाण्डमा अरु १२ जना घाइते भएका छन् ।

गोलीकाण्डमा मारिनेमा तीन पुरुष तथा तीन महिला रहेको अमेरिकी टेलिभिजन एबीसीले जनाएको छ । एकाबिहानै रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए ।

गोलीकाण्डपछि संदिग्ध बन्दुकधारीको खोजी भइरहेको जनाइएको छ । ‘यो वास्तवमै दुःखद अवस्था हो’, प्रहरी प्रमुख ले भनिन्।

आक्रमणकारी पत्ता लगाउन प्रहरीले सर्वसाधारणसँग सहयोग मागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

बन्दुक राख्न पाउने संवैधानिक व्यवस्थाका कारण अमेरिकामा भयानक गोलीकाण्डहरू दोहोरिने गरेको बताइन्छ । अमेरिकामा आफूसँग बन्दुक राख्नु र बन्दुक बोकेर हिँड्नु संस्कृतिजस्तै बनेको भन्दै केहीले यस्तो संस्कृतिको आलोचना समेत गर्दै आएका छन् ।

भूमध्य सागरमा आप्रवासी बोकेको डुङ्गा डुब्दा ९० जनाको मृत्यु

आप्रवासी बोकेर लिबियाबाट युरोप तर्फ लागेको डुङ्गा भूमध्य सागरमा डुब्दा ९० जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्राण्डीले सामाजिक सञ्जाल ट्विटरमार्फत् यसबारे जानकारी दिएका हुन् ।

‘अर्को भूमध्य सागरीय त्रासदीमा ९० भन्दा बढीको मृत्यु भएको छ । युरोपले युक्रेनबाट ४० लाख शरणार्थीहरूलाई उदारतापूर्वक र प्रभावकारी रूपमा आमन्त्रित गर्ने क्षमता प्रमाणित गरेको छ। यसले अब ढोका ढकढकाउने, संकटमा परेका अन्य शरणार्थी र आप्रवासीहरूलाई यो कसरी लागू गर्ने भनेर तुरुन्तै विचार गर्नुपर्छ’ ग्रान्डीको ट्विटमा उल्लेख छ ।

आप्रवासीहरू बोकेको भीडभाड भएको डुङ्गाले ‘धेरै दिन अघि’ लिबिया छोडेको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार व्यावसायिक ट्याङ्कर एलेग्रिया १ ले ४ जना जीवितहरूलाई उद्धार गरेको छ ।

‘हामीलाई एलेग्रिया १ सँगको हाम्रो प्रारम्भिक सम्पर्कबाट थाहा भएको छ कि बाँचेकाहरू कम्तिमा चार दिनसम्म डुंगामै थिए । उक्त डुङ्गामा करिब १०० जना सवार रहेका थिए’ अन्तर्राष्ट्रिय मानवीय सहायता संस्था मिद्सँ सँ फ्रन्टिये एमएसएफले ट्विटरमार्फत् जनाएको छ ।

उक्त सहायता समूहले रोम र माल्टाका समन्वय केन्द्रहरूलाई जीवित आप्रवासीहरूका लागि सुरक्षित स्थान तोक्न समेत आह्वान गरेको छ ।

हालैका वर्षहरूमा अफ्रिका र मध्य पूर्वमा गरिबी र युद्धबाट भागेर युरोप प्रवेश गर्नका लागि भूमध्यसागर पार गर्ने प्रयास गर्दा सयौँले ज्यान गुमाउँदै आएका छन् ।

मानवअधिकारवादी अर्को संस्था युरो–मेडिटेरेनियन ह्युमन राइट्स मनिटरले यस वर्षको शुरुमा आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२० मा १ हजार ४०१ आप्रवासीको तुलनामा २०२१ मा लगभग १ हजार ८६४ आप्रवासीको मृत्यु वा बेपत्ता भएको बताएको थियो ।

क्टर ओर्बन फेरि हंगेरीका प्रधानमन्त्री बन्ने

हंगेरीमा भएको संसदीय निर्वाचनमा विवादस्पद छविका प्रधानमन्त्री भिक्टोर ओर्बान नेतृत्वको गठबन्धन पुनः विजयी भएको छ । यससँगै उनी अब पाँचौँ पटक प्रधानमन्त्री बन्ने भएका छन् ।

त्यहाँको निर्वाचन कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार नयाँ संसद् गठनका लागि आइतबार भएको निर्वाचनमा सत्तारुढ दल फिडेस नेतृत्वको केडीएनपी गठबन्धन विजयी भएको हो ।

फिडेस नेतृत्वको गठबन्धनले ७१ प्रतिशत मत गणना हुँदा नै ५४.६५ प्रतिशत मत प्राप्त गरेको थियो ।विपक्षी छ पार्टीको गठबन्धनले भने ३३.५५ प्रतिशत मात्रै मत प्राप्त गरी दोस्रो भएको निर्वाचन कार्यालयले जनाएको छ ।

कुल १९९ संसदीय सिट मध्ये १३४ सिटमा सत्तारुढ गठबन्धन विजयी भएको युरोपेली सञ्चारमाध्यमले जनाएका छन् । यसअघि सन् २०१८ मा भएको निर्वाचनमा ओर्बान नेतृत्वको गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो । गठबन्धनले यसअघि सन् २०१८, २०१४ र २०१० मापनि संसद्मा बहुमत ल्याउँदै सरकार गठन गरेको थियो ।

मतपरिणाम सार्वजनिक भएसँगै सत्तारुढ दलका नेताहरूले देशभरी खुशियाली मनाएको समाचारमा जनाइएको छ ।देशभरी ७० लाख ८० हजार जना मतदानका लागि योग्य रहेको बताइएको छ ।निर्वाचनका लागि देशभरी १० हजार मतदान केन्द्र तय गरिएको थियो ।