समाचार

दिनभर के के भयो देशभर ? (अडियोसहित)

By खबरहब

April 04, 2022

अडियो सुन्नुहोस्ः

स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाई सुरु  निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आजबाट मतपत्र छपाई कार्य सुरु गरेको जनाएको छ । आज निर्वाचन आयोगद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्रमा निर्वाचनका लागि आवश्यक मतपत्र आयोगको निर्णयपछि आजैबाट छपाई सुरु भएको जानकारी दिए । उनले कूल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाई हुने जानकारी दिए । आयोगका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौँको हुनेछ । त्यस्तै आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ ।

पार्टी कब्जा गर्न असफल भएपछि दाहाल र नेपालले दक्षिणपन्थी गठबन्धन बनाएः ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्न असफल भएपछि दाहाल र माधव नेपालले दक्षिणपन्थी गठबन्धन बनाएको बताएका छन् । आज ललितपुरमा प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसनको महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले तत्कालीन नेकपा कब्जा गर्न उनीहरूले भएजतिकै बल लगाएको नसकेपछि दक्षिणपन्थी गठबन्धन बनाएको बताए । उनले दाहाल र नेपालले पार्टी फुटाएर कम्युनिष्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप पनि लगाए । उनले वामपन्थी भन्दा दाहाल सम्झिने गरेको भन्दै दाहाल कम्युनिस्ट हुन् भने आफू कम्युनिस्ट नभएको तर्क गरे । दाहालले मुलुकमा द्वन्द्व मच्चाएको र आफु शान्तिको पक्षमा रहेकाले आफू र दाहालबीच समानता नरहेको जिकिर उनको छ । 

सबैतिर पराजित भएपछि ओलीले राजीनामा दिन्छन्ः झलनाथ खनाल नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षबाट राजीनामा दिएपछि मात्रै एकता सम्भव हुने बताएका छन् । दाङमा जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले स्थानीय तह निर्वाचनमा एमाले पराजित भएपछि ओलीले राजीनामा दिने र त्यसपछि मात्रै एकता हुने बताए । स्थानीय निर्वाचनमा एमालेलाई देशभरिबाटै बढार्नुपर्ने उल्लेख गर्दै उनले संविधान च्यात्ने र संसद् विघटन गर्ने केपी ओली र उनको समूहलाई स्थानीय चुनावको बाकस खाली गराएर जनताले सजाय दिनुपर्ने भनाई राखे ।

काठमाडौँका ठूला डिपार्टमेन्ट स्टोरहरूमा अनुगमन, म्याद सकिएका खाद्य सामाग्रीहरू फेला काठमाडौँ उपत्यकाका ठूला डिपार्टमेन्टहरूमा म्याद सकिएका खाद्य सामाग्रीहरू भेटिएका छन् । आज जिल्ला प्रशासन काठमाडौं र बाणिज्य बिभागको संयूक्त अनुगमनका क्रममा अनामनगरमा रहेको बिगमार्ट र पुरानो बानेश्वरमा रहेको सेल्सबेरीमा म्याद सकिएका खाद्य सामाग्रीहरू भेटिएका हुन् । अनामनगरमा रहेको बिगमार्टमा अनुगमनका क्रममा केही उपभोग्य सामाग्रीहरूको म्याद गुज्रिएको फेलापरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । त्यस्तै बिगमार्टमा व्यवसायी दर्ता प्रमाणपत्र नवीकरण नगरेको पाइएकोले रु ५० हजार जरिवाना गरेको र सात दिन भित्र वाणिज्य विभागमा सम्पर्क राख्न निर्देशन दिएको उनले बताए । पुरानो बानेश्वरमा रहेको सेल्सबेरीमा पनि म्याद गुज्रिएका सामाग्री फेला परेको र व्यवसायी दर्ता प्रमाणपत्र नवीकरण नगरेको पाइएकोले रु ५० हजार जरिवाना गरिएको पौडेलले जानकारी दिए । 

चितवनका ७ वटै पालिकामा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय सत्तारुढ गठबन्धनमा रहेका ५ दलले आगामी स्थानीय तहको चुनावमा चितवनका सबै पालिकामा तालमेल गर्ने भएका छन् । आज कांग्रेसका चितवन सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले चितवनका ७ वटै पालिकामा तालमेल गर्ने निर्णय गरेको हो । बैठकले सबै स्थानीय तह र जिल्ला समन्वय समितिको चुनावमा पनि तालमेल गर्ने निर्णय गरेको छ । जिल्लाका ७ वटै पालिकामा गठबन्धनका दलहरूको बैठक बसेर संयन्त्र निर्माण गरिने पनि आजको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ । संयुक्त संयन्त्रको संयोजनको जिम्मा भने नेपाली कांग्रेसका पालिका सभापतिलाई दिने निर्णय गरिएको छ । 

अछाममा ३ दलले चुनावी गठबन्धन गर्ने अछाममा क्रियाशील ३ राजनीतिक दलले आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अछामका १० वटै स्थानीय तहका सबै ९१ वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको हो । उनीहरूले स्थानीय तहका कमिटी र कार्यसमितिहरूलाई गठबन्धनको मर्म र भावना अनुसार अघि बढ्न अनुरोध पनि गरेका छन् ।

राष्ट्रपति भण्डारीद्वारा काष्ठमण्डपको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनः निर्माण सम्पन्न भएको ऐतिहासिक काष्ठमण्डपको उद्घाटन गरेकी छन् । आज काठमाडौंको काष्ठमण्डप परिसरमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले काष्ठमण्डपको साँचो प्रदर्शन गरी उद्घाटन गरिन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले असहज स्थितिको सामना गर्दै ऐतिहासिक गौरवपूर्ण विश्व सम्पदा सूचीमा सूचीकृत काष्ठमण्डपको पुनः निर्माण र जीर्णोद्धार कार्य सम्पन्न भएको भन्दै खुसी व्यक्त गरिन् । त्यस्तै उनले काष्ठमण्डप पुननिर्माणको महत्व अझै बढ्दै गएको बताइन् । 

नेपाल र जापानबीचको सम्बन्ध धेरै पुरानोः परराष्ट्रमन्त्री खड्का नेपाल सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाल र जापानबीचको सम्बन्ध धेरै पुरानो रहेको बताएका छन् । मन्त्री खड्काले आज उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ३ आमसालस्थित आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खड्काले जापान सरकारसँगको पुरानो सम्बन्धका कारण देशमा ठूला ठूला कलकारखाना, सडक बिस्तार, स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहयोग भएको भन्दै जापान सरकारको सहयोग प्रति आभारी रहेको समेत बताए । 

एआईजी बढुवा विवाद ‘हेर्न नमिल्ने’ सूचीमा सर्वोच्च अदालतमा नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन आज पनि हेर्न नमिल्ने सूचीमा परेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार न्यायाधीश रेग्मीले यो विवाद हेर्न नमिल्ने थियो तर गोला प्रक्रियाबाट पेसी तोक्दा उनकै इजलासमा पर्दा आज पनि सुनुवाइ हुन सकेन । 

कोरोनाले अड्किएका विद्यार्थीसँग सरकारले माग्यो निवेदन  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ महामारीको समयमा नेपाल आएर रोकिएका विद्यार्थीलाई २४ चैतभित्र निवेदन दिन अनुरोध गरेको छ। सरकारले चीनलगायत विभिन्न देशमा उच्च शिक्षा गरिरहेका विद्यार्थीलाई निवेदन दिन आज सूचना जारी गरि अनुरोध गरेको हो। मन्त्रालयको सूचनापाटी वा वेबसाइटमा राखिएको ढाँचाअनुसार विवरण खुलाई मन्त्रालयको प्राविधिक शिक्षा शाखाको इमेलमा निवेदन पठाउन मन्त्रालयले अनुरोध गरेको छ।

 

पछिल्लो २४ घण्टामा नेपालमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा नेपालमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ९ सय ४२ पिसिआर परीक्षणका क्रममा ३२ जना र २ हजार १ सय १७ एन्टीजेन परीक्षणमा १ जनामा कोरोना पुष्टि भएको हो । आज ८९ संक्रमित संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ८ सय ४२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

शेयरबजार परिसूचक नेप्सेमा आज पनि गिरावट शेयर बजार परिसूचक नेप्सेमा आज पनि गिरावट आएको छ । नेप्से आज १५ दशमलव ६४  अकंले घटेर २ हजार ४ सय ९७ दशमलव  ४७  विन्दुमा पुगेको हो । आज कुल  ३४ लाख  लाख २९  हजार ९ सय १७ कित्ता शेयर १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५ सय ६२ रुपैयाँमा कारोबार भएको  छ । सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज कर्णाली विकास बैंक र प्रभु इन्सुरेन्सको शेयर ४ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि राष्ट्र उत्थान र नेस्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

वैशाख २ देखि भद्रपुर–पोखरा सिधा उडान हुने  बुद्ध एयरले वैशाख २ गतेदेखि भद्रपुर – पोखरा दैनिक उडान भर्ने भएको छ । यस रुटका लागि बुद्ध एयरले सुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ कायम गरेको छ । पोखराबाट भद्रपुर दिउँसो १ ः २५ बजे र भद्रपुरबाट पोखरा दिउँसो ३ बजे उडान हुने बुद्ध एयरले जनाएको छ । यस उडानबाट स्वदेशी मात्रै नभई भारतीय पर्यटक समेत लाभान्वित हुने कम्पनीको भनाइ छ । 

गौतमबुद्ध विमानस्थलमा पहिलो परीक्षण उडान नेपाल एअरलाइन्सले गर्ने भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को जहाजले गर्ने भएको छ । आउँदो वैशाख १ गते वायु सेवा निगमको जहाजले परीक्षण उडान गर्ने तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । भैरहवा विमानस्थलबाट व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारीअनुसार काम भइरहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए ।

धनुषाको जनता माध्यमिक विद्यालयमा अनिश्चितकालीन तालाबन्दी धनुषाको कमला नगरपालिका–१ स्थित मंगराहामा रहेको जनता माध्यमिक विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । विगत १० महिनादेखि तलब नपाएको भन्दै विद्यालयमा कार्यरत १६ जना शिक्षक तथा कर्मचारीहरूले आज तालाबन्दी गरेका हुन् ।अघिल्लो साउन महिनादेखि नै आफूहरूले तलब नपाएको सोही विद्यालयका शिक्षक अशोक कुमार मण्डलले गुनासो गरे । यस्तै उनले अनुदानको कोटामा निजी स्रोतका शिक्षकलाई राख्ने निर्णयसमेत तत्कालीन विद्यालय व्यवस्थापन समितिले कार्यान्वयन नगरेको आरोप लगाए । 

खाजा घरमा अनलाइन बिङ्गो खेलिरहेका १६ जना पक्राउ नेपाल प्रहरीले अनलाइन बिङ्गो खेल्ने १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–६ प्लटिङस्थित एक खाजा घरमा अनलाइन बिङ्गो खेल्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने २५ वर्षीय पासाङ शेर्पालगायत १६ जनालाई आइतबार साँझ पक्राउ गरेको हो । 

स्याङ्जा पाल्पा जोड्ने निर्माणाधीन पुल भत्किँदा आठ कामदार घाइते स्याङ्जा पाल्पा जोड्ने निर्माणाधीन पुल भत्किँदा आठ कामदार घाइते भएका छन् । चापाकोट नगरपालिका– ८ प्याक्लुङमा निर्माणाधीन  पुलको काम गर्ने क्रममा बिम खस्दा ८ जना घाइते  भएका हुन्  । घाइतेहरूको  पाल्पाको मिसन अस्पताल र प्रभास अस्पतालमा उपचार भइरहेको स्याङ्जा प्रहरी प्रमुख एसपी राजीब बस्नेले जानकारी दिए । घाइतेमध्ये दुईजना अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु भएपछि चक्काजाम कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि चक्काजाम गरिएको छ । आज जिल्लाको भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा बसले ठक्कर दिँदा स्थानीय मन्जु बुडालको ज्यान गएको हो । साइकलमा सवार बुडालको घटनास्थलमै मृत्यु भएपछि स्थानीयले सडकमा टायर बालेर चक्काजाम गरेका छन् । चक्काजाम गरिएपछि यातायात सेवा प्रभावित बनेको छ । यता, प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ ।