अन्तर्राष्ट्रिय

चिनियाँ दमन अर्थात् तियानमेन नरसंहार

By कृष्ण तिमल्सिना

May 04, 2022

३३ वर्षअघि, सन् १९८९ को जुनमा चीनको तियानमेन चोकमा भएको एउटा रक्तपातपूर्ण राजनीतिक नरसंहार। जसलाई, दशककै सबैभन्दा ठूलो क्रुर दमनको महिनाका रुपमा विश्वले स्मरण गर्ने गरेको छ। जुन दिन, राजनीतिक सुधारको मागसहित बेइजिङको तियानमेन स्क्वायरमा भेला भएर विरोध प्रदर्शन गरिरहेका हजारौं चिनियाँ विद्यार्थीमाथि सैनिक ट्याङ्क कुदाइएको थियो। तियानमेन स्क्वायरमा रगतको भेल बगेको थियो।

तीन दशक यता अमेरिका लगाएत पश्चिमा मुलुकले तियानमेन स्क्वायरमा भएको यो नरसंहारलाई लिएर चीनका विरुद्ध अन्तर्राष्ट्रिय मानवअधीकार मञ्चमा प्रश्न उठाइरहेका छन्। तर, बेइजिङले आजसम्म वास्तविक तथ्याङक सार्वजनिक गरेको छैन। चीन सरकारले एकतर्फी रुपमा, सन् २०१७ मा सार्वजनिक गरेका केही दस्तावेजलाई आधार मान्ने हो भने उक्त दमनमा एकै रातमा १० हजारभन्दा बढी चिनीयाँ नागरिक मारिएका थिए। कैंयौं अङ्गभङ्ग भएका थिए। अन्तर्राष्ट्रिय मानवअधीकारवादी संस्थाको दाबी छ– उक्त आम नरसंहारपछि पनि कैयौं वर्षसम्म राजनीतिक सुधारको माग राख्नेलाई सेनाले खोजीखोजी मारेको थियो। त्यसैले अहिले पनि अन्तर्राष्ट्रिय समुदायले चीनद्वारा सार्वजनिक सन् २०१७ को तथ्याङ्कलाई मिथ्या भनिरहेका छन्।

घटनाको पृष्ठभूमि एउटा स्वाभाविक प्रश्न उठ्छ, तियानमेन स्क्वायरमा राजनीतिक सुधारको माग गर्दै भेला हुने वातावरण कसरी बन्यो ? यसको पृष्ठभूमी सन् १९८० को दशकमा जोडिन्छ। जतिबेला, कम्युनिष्ट शासन भएका देशमा विरोध प्रदर्शनको लहर चलेको थियो। प्रदर्शनकारीको एउटै माग थियो, “शासकीय सुधार र राजनीतिक परिवर्तन”। जतिबेला चीन, ‘आर्थिक, सांस्कृतिक जागरण’ को प्रारम्भिक चरणमा थियो। आफ्नै रफ्तारमा अघि बढ्न खोजिरहेको बेला चीनमा भित्रिएको “शासकीय सुधार र राजनीतिक परिवर्तन” को आन्दोलनले आधार लिन थालेपछि तत्कालीन सत्ताले अन्तिम विकल्पका रुपमा सेना परिचालन गरेर आन्दोलन दबाएको थियो।

त्यसबेला, हजारौं विद्यार्थी तियानमेन स्क्वायरमा भेला भएर प्रजातान्त्रिक सुधार सहितको व्यवस्थाको मागसहित महिनौसम्म चरणवद्ध विरोधका कार्यक्रम गरिरहेका थिए। युवा पुस्तामा आन्दोलनले आशाको तरङ्ग उत्पन्न गराइ रहेको थियो। तर, चिनियाँ कम्युनिष्ट पार्टीले प्रजातन्त्र र स्वतन्त्रताको आन्दोलन प्रजातान्त्रिक मुलुकबाट भित्रिएको भन्दै आन्दोलनकारीको आवाजलाई निरन्तर दवाई रह्यो। यहीत्रास र दमनको माहोलमा हजारौं विद्यार्थी तथा अभियान्तालाई तियानमेन स्क्वायरमा सेनाको ट्यांकर चलाएर मारिएको थियो।

त्यसोतः महिनौंसम्म लम्बिएको प्रदर्शनलाई मत्थर बनाउने प्रयास नभएको होइन। तर, प्रदर्शन झनै प्रभावकारी र बृहत बन्न थालेपछि अन्ततः जुन ३ को मध्यरातमा बेइजिङ्गको तियानआनमेनमा सैनिक ट्याङ्क दौडिन थाले। बिहानसम्म सैनिक ट्याङ्कले कती प्रर्दशनकारीको ज्यान लियो भन्ने विषय कसैलाई थाहा छैन। किनकी यो, इतिहासकै व्यापक दमन थियो र यो दमनको विरोध गर्ने थुप्रै नेता जेल मै मारिएका थिए।

त्यसपछि चीनमा, प्रजातन्त्र र राजनीतिक सुधारको चाहना राखेका नागरिकका सपना निषेधझै भए। चीनले आफ्ना नागरिकको मुखबाट यो घटनाको विषयमा सुन्न, बोल्न निषेध गर्यो। त्यसैले अहिले पनि चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको सरकार, त्यो घटना बारे केही कुरा सुन्न चाहदैन। देशमा एक खालको निषेधको राजनीति निरन्तर चलिरहेको छ। विश्व समुदायलाई समेत चीनले यो ३ दशक पुरानोघटना बारे प्रश्न नउठाउन चेतावनी दिंदै आएको छ। तर, पश्चिमा मुलुकले बेइजिङसँग वास्तविक विवरण सार्वजनीक गर्न दबाब दिइरहेका छन्। अनि बेइजिङको जवाफ एउटै सुनिन्छ, यो दुखद् घटना, चीनको आन्तरिक राजनीतिक मामिला हो। त्यसैले यो नरसंहारको स्मरणमा हुने कार्यक्रममा समेत चीन सरकारले दमन गर्दै आएको छ।

आधुनिक चीन निमार्णमा लागेका कम्युनिष्ट नेताहरुको तर्क सुनिन्छ, तियानमेन नरसंहार आधुनीक चीन निमार्णमा तत्कालीन सरकारले चालेको कठोर आवाश्यकता हो। चीनीयाँ नेताले अहिलेको पुस्तालाई यही पाठ पढाई रहेका छन्। तर, यो घटनाले चीनको आधुनिकीकरण प्रभावित गरेको छ र यसले कम्युनिष्ट पार्टीको क्षविमा धब्बा लगाएको छ।

हु याओ वाङले जगाएको सपना

तियानमेन नरसंहारको पृष्ठभुमी हेर्दा, कम्युनिष्ट पार्टी अफ चाइना सीपीसीका भूतपूर्व महासचिव हु याओ–वाङको ७३ वर्षको उमेरमा मुटुरोगका कारण निधन हुन्छ। जो सुधारवादी नेताका रुपमा लोकप्रिय थिए। उनको निधनपछि, थुप्रै कलेजका विद्यार्थी शोक व्यक्त गर्न तियानमेन स्क्वायरमा भेला हुन्छन्। उनीहरु महासचिव हु याओ–वाङले भनेजस्तै, चीनमा सुधारको माग गर्न थाल्छन्। किनकी, महासचिव हु याओ–वाङ चीनमा राजनीतिक स्वतन्त्रताको पक्षपाती थिए। त्यही सहानुभुतीमा तियानमेन स्क्वायरमा भेला भएका विद्यार्थी र अभियान्ताको संख्या विस्तारै बढ्न थाल्छ। हु याओ वाङले कम्युनिष्ट पार्टीभित्र सुधारवादी नेताको छवी बनाए कै कारण, उदारवादी बुद्धिजीवी र विद्यार्थी माझ उनी लोकप्रिय थिए। जसको शंकास्पद निधन नै तियानमेन स्क्वायरको नरसंहारको कारण बन्न पुग्यो। जसले सुधारवादी विचार अघि सारेकै कारण सन् १९८७ मा पार्टी महासचिवबाट राजीनामा दिनु परेको थियो।

पार्टी महासचिवबाट राजीनामा दिएपछि, विद्यार्थीले, सुरुमा, हु याओ वाङको राजीनामा बारे पुनःसमीक्षा गर्न सरकार समक्ष माग गरिरहेका थिए। तर, त्यसको दुई वर्षपछि सुधारवादी नेता बाङको निधन भयो। उनको निधन आफैंमा संशयपूर्ण थियो। लगत्तै, सन् १९८९ को अप्रिल १७ मा राजधानी बेइजिङमा विस्तारै प्रदर्शनकारी भेला हुन थाल्छन्। यो संख्या हजारौंमा पुगेपछि, पेकिङ विश्वविद्यालय र रेन्मिन विश्वविद्यालयका विद्यार्थीले ग्रेट हल अफ द पीपल अगाडि धर्ना दिन थाल्छन्। उनीहरुले सुरुमा, हु याओ वाङको राजीनामा बारे पुनःसमीक्षा गर्न सरकार समक्ष माग गरिरहेका थिए। तर, उनैको निधनपछि, आन्दोलन र धर्नामा–प्रजातान्त्रिक सुधारको गतिलाई तीव्रता दिनका लागि सरकारसमक्ष निवेदन दर्ता गर्ने आवाज उठ्छ। जसमा अधिकांश सुधारवादी नेता र विद्यार्थीको साथ थियोः परिणाम विरोधप्रदर्शन देशका अन्य सहरमा फैलिन थाल्छ।

आन्दोलनमा युवा विद्यार्थी र सुधारवादीको साथ जोडिँदै गएपछि अप्रिल १९ का दिन केन्द्रीय सरकारी मुख्यालयको मुख्य प्रवेशद्वार अगाडि धर्ना दिने कार्यक्रम तय भयो। हजारौंले साथ दिए। सरकारले आन्दोलनकारीलाई पछि हट्न र अवरोध श्रृजना नगर्न आह्वान गरिरहेको थियो।

यतिबेला सुधारवादी नेता हु याओवाङ को निधन भइसकेको थियो। अप्रिल २२ का दिन सरकारले राजधानी बेइजिङ नजिकै हु याओबाङको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्यो। यही शोक र आक्रोशमा भड्कीएका युवा विद्यार्थीले तियानमेन स्क्वायरमा रहेको छेकबार भत्काइदिए। सुधारवादी कार्यक्रम तत्काल घोषणा गर्न मागगर्दै आन्दोलनकारीले तत्कालीन प्रधानमन्त्री ली पेङसँग भेट गर्न प्रस्ताव गर्छन्। तर, उनीहरूको माग अस्वीकृत हुन्छ।

प्रधानमन्त्रीलाई भेटेर आफ्नो माग पत्र बुझाउने प्रयत्न असफल भएपछि, शिआन र चाङ्शा सहरमा विरोध प्रदर्शन चर्किन्छ। सरकारले आन्दोलन दबाउन सुरक्षाकर्मी परिचालन गरेपछि शान्तिपूर्ण आन्दोलनः दङ्गामा परिणत हुन्छ।

देशभरबाट विद्यार्थी आन्दोलनमा जोडिन थालेपछि १९८९ को एप्रिल २३ का दिन विद्यार्थीले संयुक्त युनियन स्थापनाको घोषणा गर्छन्। सार्वजनीक विवरण अनुसार, बेइजिङमा रहेका २० वटाभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले अस्थायी विद्यार्थी युनियनको स्थापना गर्नेअभियान थालेपछि, सरकारले समाचार स्वतन्त्रतामाथि समेत नियन्त्रण सुरु गर्छ। स्वतन्त्रता र सुधारको माग गर्दै आएका विद्यार्थीले– प्रेस स्वतन्त्रताको माग जोडेर राजधानी बेइजिङ आसपासको सहरमा अनिश्चितकालीन हड्ताल घोषणा गर्छन्।

पीपल्स डेलीको विशेष सम्पादकीय सुधारवादी विद्यार्थीको आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि, एप्रिल २६ को अंकमा, पहिलो पटक सरकारी मुखपत्र पीपल्स डेलीमा आन्दोलन सम्बन्धी विशेष सम्पादकीय छापिन्छ। सरकारी समाचारपत्रले ‘भद्रगोलविरुद्ध स्पष्ट अडानको आवश्यकता’ शीर्षकमा सम्पादकीय छापेपछि, सरकार, आन्दोलन दबाउने बाटोमा गएको प्रष्ट भइसकेको थियो। जसमा लेखिएको थियो- निहित स्वार्थ भएका थोरै मानिसले आम विद्यार्थीलाई प्रयोग गरेर भद्रगोल मच्चाउन खोजेका छन्। भद्रगोल र नियोजित षड्यन्त्रको उपज विद्यार्थी आन्दोलन नियन्त्रणमा लिनुपर्छ भन्ने सन्देश पत्रिकामा छापीएपछि–प्रदर्शनकारीको आक्रोशत बढ्छ। आन्दोलनमा जनसहभागीता, बढ्न थाल्छ। १० दिनदेखि निरन्तर चलिरहेको विद्यार्थी आन्दोलन दबाउने सरकारी आसय पोखिएपछि, अप्रिल २७ का दिन विद्यार्थीले सरकारसँग वार्ताको प्रस्ताव गर्छन्। तर, सरकारले वार्ता प्रस्ताव अस्वीकार गर्छ।

लगत्तै विभिन्न विश्वविद्यालयका विद्यार्थी सडकमा ओर्लन्छन्। अस्थायी विद्यार्थी युनियनको पुनर्संरचना हुन्छ। त्यसको नेतृत्व, वुअरकाइ शीले गर्छन् र बेइजिङ स्वायत्त विद्यार्थी महासङ्घको नाममा आन्दोलन उत्कर्षमा पुग्छ। तीनवटा माग र सात वटा वार्ताको प्रस्ताव गर्दै विद्यार्थी युनियनले सरकारसामु खुला रूपमा वैध संस्थाको मान्यता दिन र पीपल्स डेलीमा अप्रिल २६ मा छापिएको सम्पादकीय पूर्ण रूपमा फिर्ता लिन माग गर्छन्। लगत्तै, युआन मु, स्टेट काउन्सिलका तत्कालीन प्रवक्ता र अन्य केही सरकारी अधिकारीले बेइजिङमा १६ विश्वविद्यालयका ४५ जना विद्यार्थीसँग खुला वार्ता गर्छन्। तर, युनियनका नेता वाङ डान र वुअरकाइ शीले वार्तालाई अस्वीकार गरेपछि आन्दोलन अझै चर्किन्छ। आन्दोलन चर्केको झण्डै एक महिनापछि, चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवले विद्यार्थी आन्दोलन रोक्न आग्रह गर्दै मेलमिलापपूर्ण सम्बोधन गर्छन्। तर, मे ३ सम्म आइपुग्दा, आन्दोलनले नियन्त्रण गुमाई सकेको हुन्छ।

मे ४ का दिन, सीपीसीका तत्कालीन महासचिव तथा उदारपन्थी सुधारवादीका रूपमा परिचित झाओ झि-याङले विद्यार्थीसँगको वार्तामा जोड दिन्छन्। उनले विद्यार्थीप्रति सहानुभूति व्यक्त गर्दै दुईवटा भाषण गरेको देखिन्छ। संबोधनका क्रममा उनले, भ्रष्टाचारका सन्दर्भमा विद्यार्थीले उठाएको आवाज युक्तिसङ्गत रहेको स्वीकार गर्छन्। तर विद्यार्थी युनियनको आन्दोलन कै परिणाम मे ४ कै दिन, विभिन्न क्याम्पसका विद्यार्थीले, नयाँ मे ४ घोषणापत्र जारी गर्ने तयारी थाल्छन्। पुरै विद्यार्थी आन्दोलन बेइजिङको तियानमेन स्क्वाएरतर्फ केन्द्रित हुन्छ। जुलुसका सहभागीले एक दलीय कम्युनिष्ट शासन व्यवस्थाको विरोध गर्दै प्रजातान्त्रीक अभ्यासको माग गर्छन्।

आन्दोलनको राप, बेइजिङ बाट साङ्घघाई, नान्जिङ र ग्वाङ्झाउसम्म पुग्छ। विद्यार्थी निरन्तर सडकमा ओर्लन थालेपछि सरकारले पुनः विद्यार्थीसँग वार्ताको प्रस्ताव गर्छ। तर, आन्दोलन रोकिँदैन। विद्यार्थी नेताहरूले विरोध प्रदर्शन अरु उचाइमा पुर्याउन र थप कडा कदम चाल्न आह्वान गर्छन्।

बेइजिङमा मिखाइल गोर्वाचोभको अपमान सोभियत संघका तत्कालीन नेता मिखाइल गोर्बाचोभको चीन भ्रमण तालिका तय भएपछि विद्यार्थीले मे १३ बाट सरकारविरुद्ध भोक हड्ताल थाल्छन्। विद्यार्थी नेता चाइ लिङ्को नेतृत्वमा सयौँ विद्यार्थीले गोर्वाचोभ, चीन आउनु दुई दिनुअघि तियानआनमेन स्क्वायरमा थालेको अनिश्चितकालीन भोक हड्तालले सरकार विरोधी आन्दोलन अन्तर्राष्ट्रियकरण हुन्छ।

सिनो–सोभियत विभाजनपछि मिखाइल गोर्बाचोभ पहिलो पटक शिखरवार्ताका लागि बेइजिङ आउँदै थिए। उनको भ्रमणको उद्देश्य दुई देशबीच तीन दशकदेखि रहेको शत्रुता अन्त्य गर्नु थियो। तर, तियानआनमेन स्क्वायर विद्यार्थीहरूको कब्जामा भएकाले सरकारले उनलाई मे १५ का दिन, बेइजिङ विमानस्थलमा स्वागत गर्नुपर्छ। तर, शक्तिमा भएका नेताहरूका लागि यो निकै लज्जास्पद विषय थियो। त्यसैले गोर्भाचोभलाई लज्जास्पद रुपले स्वागत गरेकै कारण, सोभीयत संघसंगको सम्वन्ध सुध्रिने आधार अरु कमजोर बन्छ।

आन्दोलनकारीले यो बीचमा, प्रजातान्त्रीक अधिकारको माग उठाउन थालिसकेका थिए। तरपनि, थप आन्दोलन हुन नदिन मिखाइल गोर्वाचोभ फर्किए लगत्तै मे १८ का दिन, कट्टरपन्थी मानिने तत्कालीन प्रधानमन्त्री ली पेङले वाङ दान, वुएरकाइ शी र अन्य विद्यार्थी प्रतिनिधिसँग ग्रेट हल अफ द पीपल्समा छलफल गर्छन्।

जुन छलफल, तत्काल आमरण अनशन भङ्ग गर्न र तियानमेन स्क्वाएरखाली गर्ने दुई एजेण्डामा केन्द्रित थियो। तर विद्यार्थीले सरकारलाई पिपल्स डेलीको सम्पादकीय सच्याउन र उनीहरूको आन्दोलनलाई ‘प्रजातान्त्रिक राष्ट्रवादी अभियान’ मान्न प्रस्ताव गरे। सरकारले यो माग सुन्नै चाहेन, वार्ता भंग भयो। मे १९ मा, सुधारवादी नेता झाओ झियाङ र विद्यार्थी नेतृत्वका बीचमा छलफल भयो। झाओ झियाङले विद्यार्थीहरूलाई पार्टी तथा सरकारले प्रतिशोध नलिने वचन दिँदै आमरण अनशन त्याग्न आग्रह गरे। तर विद्यार्थीले त्यो पनि स्वीकारेनन्। वार्ता असफल भएपछि, झाओ झियाङले भनेका थिए, हामी यहाँ छौँ, तर धेरै ढिलो भइसक्यो, तपाईहरुको माग प्रति म सकरात्मक छु। तर, यसरी विद्यार्थी आन्दोलनको पक्षमा सकरात्मक देखिएका झाओ यही संबोधन पछि कहिल्यै पनि सार्वजनिक रूपमा देखा परेनन्। उनको हत्या भयो, अथवा नजरवन्दमा परे।

मे १९ मा झाओले आन्दोलनकारीको पक्षमा बोलेको २४ घण्टा नबित्दै, मे २० का दिन बेइजिङका अधिकारीले सैन्य कानुन लागु गरे। मे १८ को वार्ता असफल भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी खटिसकेका थिए। सैन्य ट्याङ्कहरू सडकमा निस्कन थाले। केही ट्याङ्क आन्दोलनकारी विद्यार्थीले घेरेर राखे, बेइजिङका बाटोहरु अबरुद्ध बने। मे २४ पछि आन्दोलन थप हिंसात्मक बन्न पुग्यो। विद्यार्थी सेनाको घेराबन्दीमा परिसकेको तियानमेन स्क्वायर छोड्न तयार थिएनन्। अनशन चलिरहेको थियो। राजधानी सहरबाट सुरु भएको, अशान्ति र आन्दोलन पुरै चीनमा फैलिई सकेको थियो। परिणामः सरकारी पक्ष सैन्य कारबाही गरेर आन्दोलन निस्तेज पार्ने बाटोमा गयो।

भोक हडताल घोषणापत्र लगत्तै बेइजिङमा सैन्य कानुन जुन २ का दिन बेइजिङ नर्मल युनिभर्सिटीका लेक्चरर लिउ शिया-बो, ताइवानका चर्चित गायक हू तेइ-चि–एन र अन्य दुई चर्चित हस्तीले विद्यार्थीको समर्थनमा तियानमेन स्क्वाएरमा भोक हडताल सुरु गरे। जुन २ मा उनीहरूले जुन २ भोक हडताल घोषणापत्र सहित ७२ घण्टा अनशनमा बस्ने उद्घोष गरेका थिए। यो आन्दोलनको निर्णायक घुम्ती थियो। त्यसैले, चिनियां कम्युनिस्ट पार्टीका वरिष्ठ नेताले ‘प्रतिक्रान्तिकारी दङ्गा’लाई बल प्रयोग गरेर अन्त्य गर्ने निर्णय गरे। त्यसैको परिणाम थियो जुन ३ को घटना।

जुन २ भोक हडताल घोषणापत्रसहित कहलिएका व्यक्ति सरकार विरुद्धको आन्दोलनमा भोक हड्तालमा बसेपछि, जुन ३ का दिन, सैन्य ट्याङ्क र बख्तरबन्द गाडीसहित ठूलो संख्यामा खटिएका जनमुक्ति सेनाका सुरक्षाकर्मीले प्रदर्शनकारीलाई हटाउन थाले। केही सैनिकले गोली प्रहार गर्दा कैयौँ निसशस्त्र नागरिकको मृत्यु भयो। अनशन बसेकाको भीडमा सेनाको ट्यांकर कुदाइयो। कैयौँ घाइते भए। केही सैनिक पनि प्रदर्शनकारीको आक्रमणमा परे। तियानमेन स्क्वायरमा जुन ३ को राति रक्तपात मच्चियो।

राति रक्तपात भएपछि जुन ४ का दिन सवेरैदेखि तियानमेन स्क्वायर सेनाले सफा गर्यो। भनिन्छ, जुन ४ का दिन दिनभर तियानमेन स्क्वायर क्षेत्रमा सेनाले गोली चलाएको थियो। जुन घटनामा कति मेर, कति अंगभंग भए, कतिलाई पक्रेर जेल हालियो यसको विवरण कतै पनि छैन। यो घटनालाई, अहिले पनि तत्कालीन सरकारले चालेको कठोर आवाश्यकता भनिरहेको चीन सरकारले सम्बन्धित अभिलेख प्रकाशित गरेको छैन। जुन नरसंहारपछि, चीनका विभिन्न सहर तथा हङ्कङ र मकाउमा समेत ऐक्यबद्धता प्रकट गर्न ठूलठूला प्रदर्शन भएका थिए।

जुन ३ पछि, राजधानी बेइजीङका सडक शान्त भए। सेनाको हमलामा बंचेका विद्यार्थी तथा अभियान्ता सरकारको खोजीको सूचीमा परे। घटना लगत्तै, चीन सरकारले २१ जना विद्यार्थी नेतालाई खोजीको सूचीमा राखेको थियो। जसमा धेरै विद्यार्थी नेता, यो घटना लगत्तै देश छाडेर भागे। देश बाहिर गएका अभियान्ता र विद्यार्थीले जुनसुकै बेला आन्दोलनको झिल्को झोस्न सक्ने भन्दै चीन सरकारले- हङ्ककङ गएर लुकेकाविरुद्ध ‘अपरेशन एलो बर्ड’ चलायो। बंचेका तथा भागेका अभियान्ता पक्राउ परे। दुई महिनासम्म चलेको आन्दोलनले कुनै आकार लिन पाएन। चीन पुनः एक दलीय कम्युनिष्ट शासन प्रणालीमा अघि बढ्यो। तियान मेन नरसंहारपछि, चीनमा बन्द–हड्ताल–आन्दोलन र अवरोध श्रृंखला कहिल्यै दोहोरिन पाएन। नागरिक अधिकार कुण्ठित् भइरह्यो।