काठमाडौँ– बलिउड प्रेमी दर्शक माझ सलमान खान अभिनीत टाइगरको तेस्रो सिरिज र शाहरुख खान अभिनीत पठान प्रतीक्षित छ।
पछिल्लो समय साउथ इन्डियन फिल्मको बढ्दो दबदबालाई टक्कर दिने फिल्मको रुपमा टाइगर ३ र पठानलाई हेरिएको छ । किनकी दुई फिल्ममा शाहरुख र सलमानले केमियो गरेका छन् । यहीबाट ‘स्पाइ युनिभर्स’ को समेत यशराज फिल्म्सले सुरुवात गरेको छ ।
यसैले गर्दा पनि दुई फिल्मको चर्चा बढ्दो छ । त्यही चर्चाको कारण दुई फिल्मलाई ओटीटी कम्पनी अमेजन प्राइम भिडियोले महँगोमा खरिद गरेको छ । हल रिलिज पश्चात डिजिटल रिलिज गर्न मात्र दुई फिल्मलाई अमेजनले चार सय दस करोड दिएको बलिउड लाइफले लेखेको छ । हलिउडमा मार्भल स्टुडियोको एभेन्जर्स र डिसीको जस्टिस लिगले पाएको सफलताले पनि सुपरहिरोहरु भनौँ वा स्टारलाई एकसाथ ल्याउँदाको फाइदा प्रस्ट्याइसकेको छ ।
बलिउडमा पनि पछिल्लो समय निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिरहेका छन् । उनको फिल्म सिंघम , सिम्बा र सूर्यवंशीलाई उनले एकसाथ फिल्ममा ल्याउँदैछन् । उनले सिम्बामा सिंघम र सूर्यवंशीलाई सानो भूमिकामा भित्र्याएका थिए भने रिलिजको तयारीमा रहेको ‘सूर्यवंशी’ मा सिंघम र सिम्बाको राम्रै भूमिका छ । दर्शक माझ पनि यसको क्रेज बढ्दो छ । यसैलाई मध्यनजर गर्दै बलिउडको ठुलो कम्पनी यशराज फिल्म्सले पनि आफ्नो सफल स्पाइ क्यारेक्टरलाई लिएर ‘स्पाइ युनिभर्स’ क्रिएट गरेको छ ।
टाइगर ३
सलमान खान अभिनीत प्रतीक्षित फिल्म ‘टाइगर ३’ को प्रदर्शन मिति सन् २०२३ को अप्रिल २१ मा घोषणा गरिएको छ । सलमानको अघिल्ला फिल्म झैँ इद लक्षित गरेर फिल्म रिलिज हुन् लागेको हो । मनिष शर्माले निर्देशन गरेको फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । यो यशराज फिल्मस्को सर्वाधिक सफल फिल्मको तेस्रो भाग हो । फिल्मको लागि ओटीटी सेवा प्रदायक अमेजन प्राइम भिडियोले दुई सय करोड रुपैयाँ दिएको छ । फिल्मको क्रेजलाई मध्यनजर गर्दै यति धुलो रकम फिल्मलाई दिएको बताइएको छ । एक था टाइगर र टाइगर जिन्दा है बक्सअफिसमा सफल भइसकेका छन् । त्यसैले पनि ‘टाइगर ३’ बाट निकै अपेक्षा बढेको छ । इमरान हासमीको पनि मुख्य भूमिका रहने फिल्मलाई हिन्दीसँगै तामिल तथा तेलुगुमा समेत रिलिज गरिनेछ ।
पठान
‘जिरो’ को असफलतापछि पर्दामा नदेखिएका शाहरुख खानले ‘पठान’ फिल्म मार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई आउँदो वर्ष सन् २०२३ को जनवरी २५ मा हेर्न पाउने छन् । फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम पनि छन् । फिल्मलाई ओटीटी सेवा प्रदायक अमेजन प्राइम भिडियोले दुई सय दस करोड रुपैयाँ दिएको छ । फिल्ममा सलमान पनि देखिने छन् । उनी फिल्ममा टाइगर अर्थात अविनाश सिंह राठौरको भूमिकामा प्रस्तुत हुनेछन । उनको ‘टाइगर’ अवतारलाई फिल्ममा सिद्धार्थले जोडेका छन् ।
पठानको कथाले ‘टाइगर ३’ मा निरन्तरता पाउने भएपछि शाहरुख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक निकै खुसी छन् ।