फाइल तस्वीर

अन्तर्राष्ट्रिय

अफगान भूमिबाट आतंककारीले गोली चलाउँदा तीन पाकिस्तानी सैनिक मारिए

By खबरहब

May 04, 2022

काठमाडौं– आतंककारीहरुले अफगानिस्तानको भूमिबाट गोली चलाउँदा तीन पाकिस्तानी सैनिक मारिएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लास्थित देवागर क्षेत्रमा तैनाथ तीन सैनिक मारिएको पाकिस्तानी सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको अन्तरसेवा सार्वजनिक सम्बन्ध निकायले दिएको जानकारी अनुसार अफगान भूमिबाट पाकिस्तानी सैनिकलाई लक्षित गरी आतंककारीहरुले गोली प्रहार गरेका थिए ।

पाकिस्तानको एआरवाई न्युज समाचार च्यानलका अनुसार पाकिस्तानी सेनाले आक्रमणपछि आतंककारीविरुद्ध कारवाही चलाएको थियो । पाकिस्तानी सेनाको कारवाहीका क्रममा आतंककारीतर्फ पनि ठूलो क्षति पुगेको जनाइएको छ ।

मारिनेमा ३० वर्षे हवल्दार तैमुर, ३८ वर्षे नाइक शोएब र २४ वर्षे सिपाइ शकिब नवाज रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

यता पाकिस्तानी सेनाले आफ्नो मुलुक र सुरक्षाकर्मी विरुद्ध आक्रमणका लागि अफगान भूमिको प्रयोग हुने निन्दनीय रहेको भन्दै अफगान सरकारले यस्तो गर्न दिन नहुने जनाएको छ ।