समाचार

नेपाली सेनाले दियो मनमोहन प्राविधिक विश्वविद्यालयलाई हेलिकप्टर

By खबरहब

June 04, 2022

काठमाडौं– प्रदेश १ को मनमोहन प्राविधिक विश्वविद्यालयलाई नेपाली सेनाको स्वामित्वमा रहेको एनए-०३९ हेलिकप्टर हस्तान्तरण गरिएको छ।

नेपाली सेनाले विश्वविद्यालयमा रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययनको प्रयोगात्मक अभ्यासका लागि उक्त हेलिकप्टर प्रदान गरेको हो ।

नेपाली सेनाका अनुसार हेलिकप्टर र हेलिकप्टरसँग सम्बन्धी ४७ वटा पार्टपूजा नेपाली सेना, सैनिक वायुसेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले प्रदेश १ का सामाजिक विकास महन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हस्तान्तरण गरे ।

उक्त हेलिकप्टर यसै वर्ष प्रदेश १ मा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको एरोनटिक्स इन्जिनियरिङका विद्यार्थीले प्रयोगात्मक अभ्यासमा प्रयोग गरिने जनाइएको छ ।

उक्त हेलिकप्टर भारतको बैंगलोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडले निर्माण गरेको हो । उक्त हेलिकप्टर २०५८ साल मंसिर २६ गते नेपाली सेनालाई सहयोग स्वरुप हस्तान्तरण गरिएको थियो ।

नेपाली सेनाले विश्वविद्यालयले हेलिकप्टरबाट प्राविधिक ज्ञान अभिवृद्धि गर्ने विश्वास लिएको जनाएको छ ।