ब्रेकिङ स्टोरी

काठमाडौँ उपत्यकालाई साइकलमैत्री शहर बनाउने मेयरहरुको प्रतिबद्धता

By खबरहब

June 04, 2022

काठमाडौँ– काठमाडौँ, ललितपुर र किर्तिपुरका मेयरहरुले काठमाडौँ उपत्यकालाई साइकलमैत्री शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

साइकल कल्चर मुभमेन्टको आयोजना र खबरहब डटकमको सहकार्यमा भएको साइकल र्‍याली कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन र कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले उपत्यकालाई साइकल मैत्रीशहर बनाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका हुन्।

काठमाडौँ महानगरपालिकाका मेयर शाहले काठमाडौँमा साइकल मैत्री सडक तथा पूर्वाधार लगायतको काममा महानगरबाट तत्कालै आवश्यक अनुसन्धान थाल्ने बताए । उनले काठमाडौँ महानगरले पर्यावरणलगायतका मुद्दा सम्बोधन गर्न पनि साइकलमैत्री राजधानी आवश्यक रहेको भन्दै काठमाडौँ महानगरको तर्फबाट यस कदममा कुनै कमी आउन नदिने प्रतिबद्धता जनाए।

ललितपुरका मेयर महर्जनले आफ्नो महानगरलाई साइकल मैत्री बनाउने प्रयास थालिसकेको भन्दै आवश्यक पूर्वाधारका लागि काम भइरहेको सुनाए। उनले आफ्नो दोस्रो कार्यकालमा ललितपुर महानगरपालिकाका धेरै स्थानहरु साइकल मैत्री बनाइ सकिने प्रतिबद्धता जनाए।कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीले सांस्कृतिक शहर किर्तिपुरलाई साइकल मैत्रीशहरका रुपमा विकास गर्न आफू प्रतिबद्ध रहेको र अन्य शहरहरुसँगको सहकार्यमा उपत्यकालाई साइकल मैत्रीशहर बनाउन पहल रहने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक अगुवा डा. विद्यानाथ कोइराला, साइकल खेलाडी उषा खनाल, विश्व साइकल यात्री पुष्कर शाह, खबरहबका अध्यक्ष नरेश श्रेष्ठ, कलाकार सरोज खनाल, अभियानका संयोजक डा.तारालाल श्रेष्ठ लगायतले उपत्यकालाई साइकल मैत्रीशहर बनाउन ढिला गर्न नहुने बताए।