बलिउड/हलिउड

भन्सालीको फिल्ममा आदित्य र कृति 

By खबरहब

July 04, 2022

काठमाडौँ- बलिउडमा निर्देशक संजय लीला भन्सालीले फिल्मलाई भव्य बनाउने गर्छन् । पछिल्लो समय पिरियड ड्रामामा आफ्नो बलियो उपस्थिति देखाइरहेका संजयले नयाँ प्रोजेक्टको तयारी थालेका छन् । उनले हिरामन्डी नामक वेब सिरिजसँगै फिल्मको काम समेत अगाडी बढाएका छन् । पछिल्लो समय रणवीर सिंह र दीपिका पादुकोणलाई लिएर फिल्म गरिरहेका भन्सालीले नयाँ प्रोजेक्टका लागि आदित्य रोय कपूर र कृति सेननलाई रोजेका छन् ।

माधुरी दीक्षित, ऐश्वर्या राय, दीपिका पादुकोण, आलिया भट्ट पछि भन्सालीले कृतिलाई आफ्नो फिल्ममा कास्ट गर्दै छन् । भन्सालीकै फिल्महरु मार्फत आफ्नो अभिनय क्षमतालाई प्रस्ट्याउन सफल अभिनेत्रीहरूले गर्दा कृतिको भविष्य पनि चम्किने अनुमान गरिएको छ । पछिल्लो फिल्म ‘मिमी’ मा समेत अभिनयले दर्शकको मन जितेकी कृति भन्सालीसँग काम गर्न पाउँदा दङ्ग छिन् । सोसल ड्रामा जनरामा फिल्म बन्ने भनिएता पनि अझैँ कथावस्तु बारे प्रस्ट्याइएको छैन ।

पछिल्लो समय रणवीरको करियर ठीकठाक छैन । दीपिका पनि मसला शैलीमा निर्माण हुने फिल्ममा व्यस्त छिन् । यसैले गर्दा पनि निर्देशक भन्सालीले आफ्नो नयाँ फिल्म मार्फत बलिउडलाई नयाँ जोडी दिने तयारी गरेका छन् । यद्यपि हालै आदित्य अभिनीत फिल्म ‘ओम’ भने असफल रह्यो । यसको प्रभाव निर्देशक भन्सालीलाई पर्छ या पर्दैन ? त्यो भने हेर्न बाँकी छ ।