फाइल फोटो

ब्रेकिङ स्टोरी

कोशी पीडित : २ हजार ४ सय परिवारको उद्धार

By खबरहब

August 04, 2022

उदयपुर – उदयपुरको बेलका नगरपालिका-८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोशीले धार परिवर्तन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित भएका २ हजार ४ सय घर परिवारको उद्धार गरिएको छ ।

बाढीमा फसेका बेलका नगरपालिका-३ र बराह क्षेत्र नगरपालिकाका ६ र ९ का २ हजार ४ सय घरधुरीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना स्थानीयवासीको सहयोगमा ५ वटा बोटबाट उद्धार गरिएको सशस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारीले जानकारी दिए । बिहानदेखि साँझसम्म उद्धार जारी रहेकोले छुटेका बाँकी रहेकाहरुको खोजी भई रहेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीको भनाई रहेको छ । मानवीय क्षति भने नभएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीको भनाई रहेको छ ।

कोसी पस्न सक्ने भएकाले अघिल्लो दिन नगरपालिकाले सबै वडामा माइकिङ गरी सुरक्षित स्थानमा जान आग्रह गरेकाले पनि मानवीय क्षति नभएको नगर प्रमुख अशोक कार्कीले बताए । बाढीबाट करिब २५ हजार मानिस प्रभावित भएको उनको भनाइ छ ।

सप्तकोसी नदी ३४ वर्षपछि पुरानै धारमा फर्किँदा सुनसरी, उदयपुर र सप्तरीका बस्तीहरू प्रभावित भएका हुन् । सप्तकोसीले कटान गरेपछि सुनसरीको बराह क्षेत्र नगरपालिका, उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका हुन् ।

सप्तकोसीले धार परिबर्तन गरी आएको स्थान भनेको नदीको पुरानै स्थान हो । २०४५ सालको भूकम्पपछि सप्तकोसीले बिस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लागेको थियो । कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछिबाट बस्ती बस्न थाल्यो । अहिले कोसीले धार बदलेर पुरानै ठाउँमा आउँदा पछि बसेका बस्ती प्रभावित भएका हुन्  ।

कोसीले उदयपुरको बेलका नगरपालिका २, ३, ८ र ९ सुनसरीको बराह क्षेत्र नगरपालिका ६ र ९ सप्तरीको सप्तकोसी नगरपालिकाको ६ र ७ कञ्चनरुप नगरपालिकाको १, २, ४, ५ र १० प्रभावित भएका छन् ।

बाढीमा फसेकाहरुको उद्धार कार्य जारी रहेको  प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले भने, ‘साँझ सम्म प्रभावित सम्पूर्णलाई उद्धार गरिन्छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय खटिएका छन् । वेलका नगरपालिका–८ डुम्रिबोटेबाट झण्डै २ सय मिटर जमिन कटान गरी कोसी गाउँ पसेको हो । बुधबार बिहान ४ बजे पसेको कोशीले बेलका नगरपालिका २, ३, ८ र ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ का ४ हजार ५ सय परिवार विस्थापित भएका छन् । उद्धार गरिएका घर परिवारलाई उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन, मन्दिर तथा चर्चमा राखिने प्रजिअ यादवले बताए ।

बेलका नगर प्रमुख अशोक कार्कीले प्रभावित क्षेत्रमा कोसीको बहाव झन् बढेको बताए । नगर प्रमुख कार्कीले भने, ‘अहिले नगरको ८ र ९ वडाको केही भाग साथै ३ नम्बर वडाको अधिकांश भाग डुबानमा परेको छ । डुबानको क्रम बढ्दै गएकोले प्रभावित क्षेत्रका सर्बसाधारणलाई सुरक्षित स्थानमा ल्याउने काम भई रहेको छ ।

अविरल वर्षासँगै आएको बाढीले सप्तकोसी नदीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटमा कटान गरी कोशी गाउँ पसेको हो । प्रभावित क्षेत्रका स्थानीय घरमा भएको खाद्यान्न, लत्ताकपडा र बस्तुभाउ लिएर सुरक्षित स्थानतर्फ गइरहेको वडा नम्बर ३ का सदस्य फागुन कार्कीले बताए । अहिलेकै अवस्थामा कोशीको बहाव बढ्दै गए सप्तरीको सप्तकोसी नगरपालिकाका ६ र ७ नम्बर वडामा समेत असर गर्ने सम्भावना रहेको नगर प्रमुख कृष्ण ढकालले बताए । त्यसका लागि सतर्कता अपनाउन थालिएको उनले बताए ।

त्यसैगरी सप्तरीकै कञ्चनपुर नगरपालिकाका १, २, ४, ५ र १० नम्बर वडा पनि प्रभावित हुने अनुमान गरिएको छ । बेलका नगरपालिका– ३ का अध्यक्ष टंकप्रसाद आचार्यका अनुसार बाढीले बेलकामा मात्रै करिब २० हजार मानिस प्रभावित भएका छन् ।  बेलका–३ मा मात्र ९ सय घर प्रभावित हुने अध्यक्ष आचार्यले जानकारी दिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी बाँध बनाए पनि बाढीले कटान गरी कोसी गाउँ पसेको हो । बाढी प्रभावितहरू अहिले आफन्तका घरमा आश्रय लिइरहेका छन् ।

डुबानबाट प्रभावित स्थानीयबासीहरुलाई उद्धारका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र प्रदेश प्रहरी गण विराटनगर समेतबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । त्यसैगरी सशस्त्र प्रहरी ५ नम्बर गण रातमाटे, सशस्त्र प्रहरी बाहिनी अड्डाका विपद् जोखिम प्रतिकार्य टोली, नेपाली सेना लगायतले आ आफ्नो बोट लिएर उद्धारमा खटिएका छन् ।

डुबान प्रभावित क्षेत्रको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, भौतिक योजना तथा पूर्वाधाार विकाश मन्त्री हिमाल कार्की, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, सशस्र प्रहरी बल बराहबाहिनि पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, २ नम्बर बाहिनी इटहरीका सहायक रथि सन्तोषराज पाण्डे, जिल्ला प्रशासन कार्यालय उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु बराह क्षेत्र, बेलका, कन्चनरुप र सप्तकोशी नगरपालिका नगर प्रमुखहरु समेतले  स्थलगत अवलोकन गरेको छ ।

अवलोकनपछि प्रदेश १ का मन्त्रीद्धय, सुनसरी, मोरङ र उदयपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको प्रमुख नगर प्रमुखहरुको बेलका नगरपालिकामा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बेलका नगरपालिकामा बसेको थियो । बैठकले तत्काल बाढीमा फसेकाहरूलाई उद्धार र राहत उपलब्ध गराउने राहत उपलब्ध गराउँदा एकद्धार प्रणालीबाट उपलब्ध गराउने निर्णय गरेको छ ।