सुर्खेत : नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साइतको महत्व हुन्छ । त्यस्ता साइतहरुमा मङ्गल धुन बजाएर उक्त साइतलाई शुभ बनाउने चलन छ । मङ्गल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो । दशैँ नजिकै आइसक्यो । तर, पछिल्लो समयको आधुनिकतासँगै गाउँघरमा कमै मात्र घन्किन्छन् यी बाजाहरू ।
हिन्दुहरूको महानपर्व दशैँ, तिहारको अवसरमा परदेशिएका परदेशी घर फर्किसकेका छन् भने कोही फर्किने तयारीमा छन् । गाउँघरमा दशैँले आफ्नो माहोल बनाइसकेको छ । छाइसकेको छ ।
महिनौँ वर्षौँदेखि देखि कामको शिलशिलामा परदेशिएका दाजुभाइलाई दशैँले एकै ठाउँमा जम्मा पारिसकेको छ । तर दशैँ नजिकिएसँगै पहिलेजस्तै पञ्चेबाजा बज्न छोडेका छन् । पहिलेजस्तै पञ्चेबाजा अहिले गाउँघरमा घन्किँदैनन् । बरु विभिन्न किसिमका साण्डसिस्टम र डिजेहरु जताततै घन्किरहेका हुन्छन् ।
नेपालको पहाडी भेक गाउँघरका कुना कन्दरामा बजाइने पञ्चैबाजा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई लोप हुने अवस्थामा पुगेको पञ्चेबाजा संरक्षण समिति वीरेन्द्रनगरका अध्यक्ष कैला खड्का बताउँछन् ।
पञ्चे बाजा, नेपाली धार्मिक एवम् सांस्कृतिक बाजाको रूपमा प्रयोग हुँदै आएको मौलिक संस्कृतिको धरोहर समेत मानिन्छ । तर, यसको संरक्षण र संवर्द्धनमा कसैले चासो नदिँदा ओझेलमा पर्दै गएको उनको भनाई छ ।
यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतबन्ध, चाडबाड, जात्रा, रोपाइँ, पूजा आजा आदिमा बजाइने महत्वपूर्ण बाजा हो ।
नेपालीको महान् पर्व दशैँ-तिहारजस्ता ठूला चाडमा मङ्गल धुन अर्थात् मालश्री धुनले गाउँघर गुञ्जायमान बनाउँथ्यो । मङ्गल धुन बज्न थालेपछि हरेक नेपालीमा दशैँ-तिहार सुरु भएको आभास छाउँथ्यो । मङ्गल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो । तर, यो बाजा पछिल्लो समय ओझेलमा छ ।
केही वर्ष यता बढ्दो आधुनिकतासँगै र व्यवसायिक नबन्दा लोप हुने अवस्थामा पुगेका छन् । कुनै समय पञ्चेबाजा भन्नेबित्तिकै साना देखि तरुना बूढाबूढी सबैजना हुरुकै हुन्थे भने बढ्दो आधुनिकसँगै पञ्चेबाजा कमै मात्र घन्किन्छन् ।
पहिले पहिले पञ्चे बाजा बज्नेबित्तिकै वल्लोपल्लो,तल्लोमाल्लो गाउँका मानिसको ओइरो लाग्थ्यो । बाजा बजाउनेको व्यवस्था पनि उस्तै राम्रो हुन्थ्यो । पञ्चे बाजासँगै महिला रतेउली, हुड्के, पुरुष देउडा खेल, श्रमनाच र युवायुवती घिन घिन मादलको तालमा उफ्री उफ्री नाच्दै रमाइरहेका हुन्थे ।
सबैतिर उल्लास र उमंग हुने भएकाले दिनभरि काम गरेर आएका मानिसलाई थकान महशुस हुँदैन थियो । बुढाबालक पनि त्यो रमाइलो देखेर खुशीले उफ्रिन्थे ।
तर केही वर्षयता भने बढ्दो आधुनिकतासँगै पञ्चे बाजा कमै मात्र घन्किने गरको सुर्खेतका बरिष्ठ कलाकार कुलमान नेपाली बताउँछन् ।
‘बिहेवारी विभिन्न चाडबाडमा निकै घन्किन्थे तर अहिले ओझेलमा छन्’ उनले भने ।
युवाहरू सबैजसो रोजगारको लागि बिदेशिएपछि जिल्ला वा गाउँका विभिन्न सभा, समारोहमा बालक र बुढापाकाले मात्र बाजागाजा बजाएको देख्न पाइन्छ । आजभोलि गाउँमा हुने एकाध सार्वजनिक समारोहमा अतिथिलाई पञ्चेबाजा बजाएर स्वागत र सत्कार गर्ने गरिन्छ ।
बिहेको शैली फेरिएपनि पञ्चेबाजा पुरानो संस्कृति भएकाले यसलाई बचाई राख्न सबै क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने दैलेखको ठाटीकाँध गाउँपालिका २ का भोजने नेपाली बताउँछन् ।
‘बढ्दो आधुनिकताले हाम्रो मौलिक पन मौलिक संस्कृतिको धरोहर पञ्चेबाजा दिनहुँ ओझेलमा छन्,’उनले भने, ‘तिनै तहका सरकारले यसमा चासो पुर्याउन आवश्यक छ ।’
पछिल्लो समय पञ्चेबाजा पनि पुरानो अवस्थामा पुगेर नबज्ने भएको र युवाहरू पनि विदेश पलायन हुनुले पञ्चेबाजा ओझेलमा पर्दै गएको नेपालीको भनाई छ ।
नौमती बाजा लोप हुँदै जान थालेपछि यी बाजा बजाउनेहरू पनि अन्य आधुनिक बाजा बजाउने तथा नयाँ पेशालाई अँगाल्न थालेको स्थानीय बूढापाकाहरू बताउँछन् । ठाटीकाँध –२ का लालचने नेपाली पुरानो चिनारीका रुपमा रहेको बाजा लोप हुन थालेकाले यसको संरक्षण गर्नुपर्ने बताए ।
व्यवसायिक बन्न सकेन पञ्चेबाजा
नेपाली समुदायले परमपरागत रुपमा बजाउँदै आएको पञ्चेबाजा व्यवसायिक नबन्दा र नयाँ पुस्तामा सीप हस्तान्तरण नहुदाँ ओझेलमा पर्दै गएका छन् ।
दिनभरि बाजा बजाएर भनेजस्तो ज्याला नपाउनुजस्ता समस्याले युवाहरू विदेशीनेक्रम बढेसँगै पञ्चेबाजा लोप हुँदै गएका छन् । नेपाली लोकसंस्कृति झल्किने संस्कृतिको धरोहर मानिने यि बाजाहरू कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धरोहर मानिने बाजा लोप हुने खतरामा छ ।
आधुनिकतासँगै अन्य बाजाको प्रभाव र परम्परागत रुपमा बाजा बजाउनेको पेशालाई संरक्षण गर्न नसक्दा र उचित ज्यालाको व्यवस्था नहुनुले अहिले यो बाजा लोप हुने अवस्थामा पुगेको अर्का काशे नेपाली बताउँछन् ।
बाजा बजाउने सीप भएका पुराना पुस्ताले नयाँ पुस्तालाई सिकाएपनि उनीहरूको निरन्तर आम्दानी सोही क्षेत्रमा हुन नसक्दा विदेश पलायन बढेको छ ।
बाजेबुवाहरुले बजाउदै आएको बाजा हामीले सिकौँ, नयाँ पुस्तालाई सिकाऔँ, तर उनीहरूको दैनिक आम्दानीको स्रोत बन्न नसक्दा अन्य पेशामा आवद्ध हुनु पर्ने कारणले पञ्चेबाजा निरन्तर आम्दानीको पेशा नबनेको टिका नेपालीको भनाई छ ।
बिहे व्रतबन्धमा गयो भने पाँच छ हजार मात्र पाउँछौँ,’ उनले भने, ‘त्यसैलाई प्रत्येकलाई बराबर बाँड्दा चारपाँचसय पनि हुँदैन अनि कसरी संरक्षण गरौँ ।’
‘विभिन्न शुभकार्यमा बिहान बेलुकीको पञ्चेबाजाको पार, ब्याउली ल्याउने भित्र्याउने, सम्मान, स्वागत तथा सुरुवात, देउपतिलाइ नाच्ने ताल, बिदाई लगायतको तालहरू बाजामा हुन । तर, परम्परागत बाजा संरक्षण गर्नु हाम्रो पनि दायित्व हो, तर मौलिक बाजा बजाएर जिविकोपार्जन नहुँदा यो पेशामा नयाँ पुस्ताको आकषर्ण कम छ ।’
पछिल्लो समय बाजाको महत्व बढ्दै गएपनि स्थानीय सरकार बाजा संरक्षण तथा नयाँ पुस्ता हस्तान्तरणका लागि तालिम सञ्चालनका लागि बजेट विनियोजन छैन, उनले भने । ‘बाजा जसले बजाउँछु, उसले बाजा किन्नुपर्छ । विभिन्न शुभकार्यमा बजाउने यो पेशा अगाल्नमा बढी नेपाली नै रहेका छन ।’
दिनानुदिन महत्व बढ्दै गएको नौमती बाजाको संरक्षणमा तालिम र परम्परागत रैथाने पञ्चेबाजा पेशा व्यवसायिक रुपमा अघि बढाउन स्थानीय सरकारले ध्यान दिन आवश्यक देखिन्छ ।
दमाहा, तबला, झ्याली, सनाही र नरसंघा गरी पाँच प्रकारका पञ्चेबाजा संरक्षण अभावमा छन् । बाजासँगै विभिन्न सांस्कृतिक परम्परा जोगाउन विभिन्न अभियान सञ्चालन गरेर युवा पुस्तालाई रोजगारी सिर्जना गर्नु आवश्यक छ । बाजा हराए हाम्रो कला, संस्कृति र संस्कार हराउने भएकाले यसको संरक्षणका लागि पहल गर्न सबै लाग्नु पर्ने देखिन्छ ।