फाइल फोटो

देश/प्रदेश

प्रतिस्पर्धालाई अस्वस्थ नबनाउन ओलीको आग्रह

By खबरहब

October 04, 2022

काठमाडौं -नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । बडादसैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताए।

“हामीले लडेर ल्याएको व्यवस्था नै बहुदलीय प्रतिस्पर्धा हो”, उनले भने, “प्रतिस्पर्धा स्वस्थ भएन भने त्यो लोकतान्त्रिक राजनीति हुँदैन ।” उनले दलहरुबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्ने विषयमा एकता हुनुपर्ने धारणा व्यक्त गरे । एमाले अध्यक्ष ओलीले शुभकामना मन्तव्यका क्रममा दसैँको सांस्कृतिक, सामाजिक र पौराणिक महत्वका विषयमा चर्चा गर्दै मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, नारी शक्तिको उपासना गर्ने र असत्यलाई पराजित गर्ने सन्देश दिने चाड अरू मुलुकमा नभएको बताए ।