राजनीति

निर्वाचन आयोगद्वारा उपराष्ट्रपतिलाई निर्वाचन तयारी बारे जानकारी

By खबरहब

November 04, 2022

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन  निष्पक्ष, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले आगामी निर्वाचनलाई हालसम्मकै कम विवादित तथा बढी निष्पक्ष र स्वतन्त्र भएको स्थापित गर्ने चुनौती निर्वाचन आयोगसँग रहेको समेत जनाए ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तयारी बारे जानकारी गराउन आज अपरान्ह उपराष्ट्रपति भवन, हरितगृह पुगेका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र निर्वाचन आयोगका अन्य पदाधिकारीसँग कुरा गर्दै उपराष्ट्रपतिले निर्वाचनमा अधिकतम मतदाता सहभागी हुन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

‘स्थानीय तहको निर्वाचन सम्पन्न गरेकोमा म निर्वाचन आयोगलाई बधाई तथा धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आयोगले जुन तयारी गरिरहेको छ, यसमा मलाई निकै खुसी लागेको छ । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न हुनेमा म विश्वस्त छु ।’ 

उपराष्ट्रपतिसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिवद्धतासहित आयोगले तयारीका कामलाई तीव्र बनाएको बताए । उनले मतपत्र छपाईको काम सम्पन्न भएको जानकारी गराउँदै उपत्यका बाहिरका जिल्लाहरूमा ढुवानीसमेत भइसकेको बताए ।