तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

घानामा अवैध चिनियाँ सुनखानीको सञ्चालन रोकिएन

By खबरहब

November 04, 2022

काठमाडौँ– अफ्रिकी मुलुक घानामा चीनले अवैध रुपमा सुनखानी सञ्चालनलाई निरन्तरता दिइरहेको पाइएको छ । ‘अवैध सुनखानीकी रानी’ उपमा पाएकी आइशा हुवाङ पक्राउ परेसँगै चीनले घानामा अवैध सुनखानी सञ्चालनलाई निरन्तरता दिइरहेको बाहिर आएको हो । उनी घानाको कुमासी सहरबाट पक्राउ परेकी हुन् ।

उनीसहित तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुले मुलुकको अशान्ती क्षेत्रमा गैरकानूनी हिसाबमा सुनखानी सञ्चालन गर्दै आएको आरोप लागेको छ ।

उनीहरुविरुद्ध अवैध खानी सञ्चालन गरेको र बिनालाइसेन्स सामानको खरिदबिक्री गरेको अभियोग लगाइएको जनाइएको छ । उनी ५ वर्षअघि पनि गैरकानूनी सुनखानी सञ्चालन गरेकै आरोपमा पक्राउ परिसकेको फाइनान्सियल पोस्टले जनाएको छ । यद्यपि उनी त्यहाँबाट रहस्यमय किसिमबाट फरार भएकी थिइन् ।

घानाका सुरक्षा अधिकारीका अनुसार पक्राउ परेका बेला उनीसँग दुईवटा चिनियाँ राहदानी समेत रहेको थियो । साउथ चाइना मर्निङ पोस्टका अनुसार घानामा सन् २००५ यता ५० हजारभन्दा धेरै सुनखानीमा काम गर्ने चिनियाँ कामदार पुगिसकेका छन् ।

यसअघि गत मार्च महिनामा पनि घानाको बामियाङ्को क्षेत्रबाट घानाका एक सहयोगीसहित चार अवैध सुनखानीमा संलग्न चार जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।