राजनीति

समानुपातिकमा १० दलको ५ हजारभन्दा कम मत

By खबरहब

December 04, 2022

काठमाडौँ- आमनिर्वाचन २०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिकमा १० राजनीतिक दलले पाँच हजार मत समेत कटाउन सकेका छैनन् ।

समानुपातिकतर्फ पाँच हजार मत नकटाउनेमा विवेकशील साझा पार्टी पहिलो नम्बरमा छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार विवेकशील साझाले ४ हजार ३९ मत पाएको छ ।

यस्तै एकीकृत शक्ति नेपालले ३ हजार ७७६ मत पाएको छ । समानुपातिकतर्फ नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ३ हजार ६९४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ले ३ हजार ४०४ मत, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले ३ हजार ३३२ मत ल्याएका छन् ।

त्यसैगरी, मौलिक जरोकिलो पार्टीले ३ हजार २३५, नेपाल समावेशी पार्टीले २,९५२, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले २ हजार १९१, राष्ट्रिय नागरिक पार्टी २ हजार १४३, नेश्‍नलिष्ट पिपल्स पार्टीले २ हजार १५ मत ल्याएको छ ।

देशभर १ करोड ४ लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले सबैभन्दा बढी मत ल्याएको छ । उसले २७ हाल ८८ हजार ३५६ मत ल्याएको हो । यस्तै नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ ल्याउँदा नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४ मत ल्याएको छ ।