तस्वीर- क्यान

क्रिकेट

आईसीसी क्रिकेट विश्वकप लिग २ : स्कटल्याण्डसँग नेपाल ३ विकेटले पराजित

By खबरहब

December 04, 2022

काठमाडौँ– नामिबियामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।

नामिबियाको राजधानी वाइण्डहोकमा रहेको युनाइटेड क्रिकेट क्लब मैदानमा भएको खेलमा नेपालले दिएको १३८ रनको झिनो लक्ष्य स्कटल्याण्डले ३२ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टाएसँगै नेपाल पराजित भएको हो ।

नेपालका लागि सागर ढकाल, गुल्सन झा र ललित राजवंशीले समान २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । स्कटल्याण्डका लागि क्रिस्टोफर मकब्राइडले सर्वाधिक ४३ रन बनाए । त्यस्तै, ब्राण्डन मकमुलनले नट आउट ३२ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १३७ रनमात्र बनाउन सकेपछि स्कटल्याडले झिनो लक्ष्य पाएको थियो ।

स्कटल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिलो इनिङमा नेपाल ब्याटिङमा उत्रेको थियो । स्कटल्याडको घातक बलिङसामु नेपाल ४० ओभर १ बलमा अल आउट हुन पुग्यो ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन बनाए । त्यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २५ रन बनाए । यसबाहेक अर्जुन साउदले १८, कप्तान रोहित पौडेलले १७ र आरिफ शेखले १० रन बनाउनुबाहेक कुनै नेपाली ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

स्कटल्याण्डका लागि क्रिस सोलले सर्वाधिक ३ विकेट लिए भने मार्क वाटले नेपालको २ विकेट झारे । स्कटल्याण्डका मिसेल लेस्क, सफयान सरिफ र ब्राण्डन मकमुलेनले समान एक विकेट लिए ।

यसअघि शुक्रबार नेपालले नामिबियासँग खेलेको थियो । वर्षाका कारण उक्त खेल रद्द भएपछि दुबै टोलीले समान एक अंक बाँडेका थिए ।