देश/प्रदेश

बालिकाका लागि आत्मरक्षा तालिम

By खबरहब

December 04, 2022

काठमाडौँ- महिला हिंसाविरूद्धको १६ दिने अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिकामा बालिकाका लागि तीन दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको छ ।

ग्लोबल एक्सन नेपालको आयोजना तथा नगरपालिका, नेपाल आत्मरक्षा सङ्घ र स्थानीय गणेश माध्यमिक विद्यालयको सहकार्यमा सञ्चालित तालिमको उद्घाटन गर्दै बागमती प्रदेशका नवनिर्वाचित सदस्य जयराम थापाले नेपाली समाजमा देखिएका महिला हिंसाका घटना न्यूनीकरण गर्न यस्ता कार्यक्रमले टेवा दिने बताए ।

सङ्घका अध्यक्ष डिबी रानापालले बालिकालाई सुरक्षाका लागि यस्ता तालिम प्रभावकारी हुने भएकाले मुलुकभरका सबै विद्यालयमा तालिम सञ्चालन हुनुपर्ने बताए । आयोजक ग्लोबल एक्सन नेपालका अध्यक्ष बाबुकाजी श्रेष्ठले सहभागी बालिकाले आफ्ना विद्यालयमा गएर अन्य बालिकालाई जानेको व्यावहारिक र जीवनोपयोगी सीप सिकाउन आग्रह गरे ।

यही मङ्सिर १७ गते सुरू भई मङ्सिर १९ गते सम्पन्न हुने तालिममा नगरपालिकाका सामुदायिक विद्यालयका कक्षा ८ भन्दा माथिका ४५ जना बालिका सहभागी छन् ।