राजनीति

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतभारको अवस्था यस्तो छ

By खबरहब

January 05, 2022

सुर्खेत – राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानूनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षलाई मात्र मताधिकार छ ।

कर्णालीमा हाल स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष १५६ र प्रदेशसभा सदस्य ३५ गरी १९१ मतदाता छन् । प्रदेशसभाका एक सदस्य बराबर ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुख एक बराबर १८ मतभार कायम छ । यस हिसाबले राष्ट्रियसभा सदस्यको मतदानका लागि प्रदेशसभा सदस्यको कूल मतभार एक हजार ६८० रहेको छ ।

थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको कूल मतभार दुई हजार ८०८ रहेको छ । राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा सबैभन्दा बढी मत नेकपा (माओवादी केन्द्र)सँग छ । माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख/उपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ सदस्य छन् । माओवादी केन्द्रबाट स्थानीय तहमा जितेका मतदाताको मतभार ९३६ र प्रदेशसभा सदस्यको मतभार ५७६ गरी एक हजार ५१२ मत छ।

नेकपा (एमाले) का स्थानीय तहका प्रमुख/उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् । जसमा स्थानीय तहमा एमालेको ८१० र प्रदेशसभा सदस्यबाट ६२४ मत हुन आउँछ । एमालेको कूल एक हजार ४३४ मत छ । नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख/उपप्रमुखको ४० र प्रदेशसभा सदस्य ६ रहेका छन् । कांग्रेससँग प्रमुख/उपप्रमुखको मतभार ७२० तथा प्रदेशसभा सदस्यको २८८ गरी कूल एक हजार आठ मत छ ।

एमाले विभाजनपछि बनेको नेकपा (एकिकृत समाजवादी) मा स्थानीय तहका प्रमुख/उपप्रमुख गरी १३ र प्रदेशसभामा तीन सदस्य छन् । उनीहरुको स्थानीय तहको मतभार २३४ र प्रदेशसभा सदस्यको मतभार १४४ गरी एकीकृत समाजवादीको कूल मत ३७८ रहेको छ । राप्रपाको एक जना प्रदेशसभा सदस्य भएकाले उसको मतभार ४८ मात्र छ ।

कर्णालीमा ६ उम्मेदवारको मनोनयन दर्ता

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णालीमा ६ जनाको उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । राष्ट्रियसभा सदस्य रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (समाजवादी), हुम्लाका कविता बोगटी (एमाले) र कालिकोटका जीवन बुढा (माओवादी)को पदावधि फागुन १८ गते सकिएर रिक्त हुने तीन पदमा यहाँका चार दलका ६ उम्मदेवारले आफ्नो मनोनयन दर्ता गरेका हुन् ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार नेपाली कांगे्रसबाट महिला कलस्टरमा दुर्गा गुरुङ (सुर्खेत), माओवादी केन्द्रबाट अपाङ्गता/अल्पसङ्ख्यक कलस्टरमा नरबहादुर विष्ट (सुर्खेत) र एकीकृत समाजवादीबाट खसआर्य कलस्टरमा उदय बोहरा (सल्यान)ले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिपक्षी दल नेकपा (एमाले)बाट खसआर्य कलस्टरमा चुडामणि शर्मा (सुर्खेत), महिलामा गङ्गा महत (जुम्ला) र अपाङ्गता/अल्पसङ्ख्यक कलस्टरमा पदम माझी (दैलेख)ले मनोनयन दर्ता गरे । कांग्रेसबाट महिला कलस्टरमा मनोनयन दर्ता गरेकी राष्ट्रियसभा सदस्यका उम्मेदवार वीरेन्द्रनगर- का गुरुङ तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा मारिएका कांग्रेस कार्यकर्ता यज्ञबहादुर गुरुङकी धर्मपत्नी हुन् ।

माओवादी केन्द्रबाट अपाङ्गता कलस्टरबाट उम्मेदवारी दिएका विष्ट पहिलो संविधानसभाको सदस्य र हाल उक्त पार्टीको केन्द्रीय सदस्य छन्। खस आर्यतर्फ उम्मेदवारी दिएका बोहरा सल्यानका पूर्वजिल्ला विकास समिति सभापति र एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन्। एमालेबाट उम्मेदवारी दिएका शर्मा र माझी पार्टीको प्रदेश कमिटी सदस्य हुन् भने महत पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुन्। महत जुम्लाका एमालेका तत्कालीन नेता तथा पूर्वशान्ति राज्यमन्त्री स्वर्गीय डिल्लीबहादुर महतकी धर्मपत्नी हुन्।

सत्ता साझेदार दलमध्य नेकपा (माओवादी केन्द्र) को प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरेर एक हजार ५१२, कांग्रेसको एक हजार आठ र नेकपा (एकीकृत समाजवादी)को ३७८ मत रहेको छ । गठबन्धन भित्रका तीनै दलको मत गणना गर्दा २ हजार ८९८ हुन्छ। प्रतिपक्षी दल एमालेसँग प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरेर एक हजार ४३४ मत छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग मात्र ४८ मत छ ।