समाचार

हत्या गरिएका दिलिप महतोलाई ‘पर्यावरण शहीद’ घोषणा गर्न दबाब

By खबरहब

February 05, 2022

महोत्तरी– क्रसर माफियाविरुद्ध आवाज उठाउँदा हत्या गरिएका पर्यावरण अभियानी दिलिप महतोलाई ‘पर्यावरण शहीद’ घोषणा गर्न युवाहरूले दबाब दिएका छन् ।

युवाहरूको समूह युथ एसोसिएसन अफ नेपालले महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई ज्ञापनपत्र बुझाएको हो । एसोसिएसनका प्रवक्ता राजुकुमार महतो नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी दाहाललाई ज्ञापन पत्र बुझाएको छ । क्रसर माफियाविरुद्ध बोल्दा दिलिपको हत्या गरिएको थियो ।

उनीहरूले घटनाको छानबिन केन्द्रीय स्तरबाट गराई दोषीलाई कारबाही गर्न पनि माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले महतोलाई पर्यावरण शहीद घोषणा गराउन आफूले पहल गर्ने आश्वासन दिए । यसअघि संघीय सरकारका वन तथा वातावरणमन्त्री रामसहाय यादवलाई ज्ञापनपत्र बुझाइएको थियो ।

वातावरणको दोहन गर्नेविरुद्ध आवाज उठाउने धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो ‘दिलिप’ को हत्या भएको थियो । २०७६ पुस २५ औरही खोलामा भइरहेको अबैध दोहन रोक्न पुगेका महतोको हत्या गरिएको थियो । उक्त घटनामा संलग्नहरूमाथि मुद्दा चलाएको छ । तीन जनालाई भने घरौटीमा छाडिएको छ ।