अन्तर्राष्ट्रिय

सिरियामा दुई तक्मा पाउने रुसी मेजर जनरल युक्रेनमा मारिए

By खबरहब

March 05, 2022

काठमाडौं– युक्रेनमाथि आक्रमण गरिरहेको रुसी फौजका वरिष्ठ सैनिक अधिकारी मारिएका छन् । युक्रेनी पक्षले जारी युद्धमा संलग्न रुसी सेनाका मेजर जनरल आन्द्रेई सुखोभेत्स्की मारिएको दाबी गरेको हो ।

४७ वर्षे मेजर जनरलको कुन र कस्तो अवस्थामा ज्यान गएको हो भन्नेबारे केही स्पष्ट नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी सञ्चारमाध्यमले पनि उनको ज्यान गएको पुष्टि गरेको छ । रुसी सरकार निकट मानिने प्राभ्दा पत्रिकाले ‘युक्रेनमा विशेष सैनिक कारवाही’ का क्रममा उनको मृत्यु भएको जनाएको छ ।

रुसको तास समाचार संस्थाका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई सेन्ट्रल मिलिटरी डिष्ट्रिक्ट अन्तर्गतको ४१ औँ कम्बाइन्ड आर्म्स आर्मीको सहायक कमाण्डर नियुक्त गरेका थिए । यसबाहेक उनले सातौ एअरबोन डिभिजनको प्रमुखका रुपमा सिरियामा पनि सेवा दिइसकेको जनाइएको छ ।

सिरियामा राष्ट्रपति बसर अल असदलाई सैन्य सहयोग गर्न तैनाथ रुसी टुकडीमा सेवा गर्दा बहादुरीको सम्मान गर्दै उनलाई दुई तक्मा पनि प्रदान गरिएको थियो । युक्रेन युद्धमा मरिने उनी सबैभन्दा वरिष्ठ रुसी सैनिक अधिकारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्