राजनीति

चितवन नेपाली काँग्रेसको जिल्ला सभापतिमा खनाल निर्वाचित

By खबरहब

March 05, 2022

चितवन– नेपाली काँग्रेस चितवन सभापतिमा राजेश्वर खनाल सर्वसम्मत निर्वाचित भएका छन् ।

संस्थापन इतरका खनाल १४औँ जिल्ला अधिवेशनअन्तर्गत दोस्रो चरणको मतदानअघि नै सर्वसम्मत सभापति चयन भएका हुन् ।

दोस्रो चरणको मतदानमा खनाललाई सभापतिका अर्का उम्मेदवार उत्तम जोशी र सूर्यकान्त घिमिरेले समर्थन गर्ने निर्णय गरेका थिए । त्यसपछि बाँकी उम्मेदवार

मिलनबाबु श्रेष्ठ र कैलाश कोइरालाले पनि खनाललाई नै समर्थन गरेको जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

पहिलो चरणको मतदानमा कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान गर्ने तयारी थियो । पहिलो चरणको मतदानमा राजेश्वर खनालले ७४६,

मिलनबाबु श्रेष्ठले ६६२, उत्तम जोशीले ४७२, सूर्यकान्त घिमिरेले ४२६ र कैलाश कोइरालाले ४१२ मत प्राप्त गरेका थिए ।

मिलनबाबु श्रेष्ठ संस्थापन पक्ष अर्थात् काँग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुन् भने बाँकी चार उम्मेदवार संस्थापन इतरका हुन् ।

सभापतिमा खनाल सर्वसम्मत भएपछि बाँकी पदाधिकारी र सदस्यहरूको मतगणना केहीबेरमा सुरु हुने निर्वाचन समिति संयोजक अधिकारीले बताए ।