समाचार

मृत्यु भएको दुई दिनपछि परिवारजनले शव बुझे

By खबरहब

March 05, 2022

उदयपुर– उदयपुरको गाईघाटमा उपचारका क्रममा मृत्यु भएकी गर्भवतीको शव परिवारले बुझेको छ ।

दुई दिनअघि जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएकी उदयपुरगढी गाउँपालिका–६ नेपालटारकी ३२ वर्षीया गर्भवती सीता राउत कार्कीको शव परिवारले बुझेको हो ।

स्वास्थ्यकर्मीको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै परिवारले शव उठाउन मानेको थिएन ।

परिवारजनले घटनाको छानबिन हुनुपर्ने, क्षतिपूर्ति दिनुपर्ने र मृतकका दुई छोरीको स्वास्थ्य र शिक्षाको ग्यारेण्टी लिनुपर्ने माग गर्दै आएका थिए । दुई दिनसम्मको छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि शव बुझेको पीडितका परिवारले जनाएको छ ।

त्रियुगा नगरपालिकाले छोरीहरूको शिक्षाका लागि एक लाख ५० हजारको अक्षयकोष उपलब्ध गराउने र उदयपुरगढी गाउँपालिकाले नमुना माध्यमिक विद्यालय भलायाडाँडामा कक्षा १२ सम्म प्राविधिक शिक्षा निःशुल्क पढाउने मौखिक सहमति गरेका छन् ।

गर्भवतीको मृत्युपछि अस्पतालमा आफन्तले तोडफोड गरेका थिए ।

फागुन १७ गते अस्पताल ल्याएको र उपचार नपाएरै मृत्यु भएको श्रीमान् अर्जुन कार्कीले आरोप लगाए ।

चिकित्सकले भने गर्भवतीको कन्डिसन खराब रहेकाले तत्काल अप्रेसन गर्न आग्रह गर्दा मृतकका आफन्तले नमानेको र दुर्घटना भएको बताउँछन् ।