तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

युद्धविराम घोषित युक्रेनी शहरमा गोलाबारी रोकिएन, उद्धारको काम स्थगित

By खबरहब

March 05, 2022

काठमाडौं– युद्धविराम घोषित युक्रेनी शहरमा रुसी बमबारीका घटनामा कमी नआएको युक्रेनले आरोप लगाएको छ । दोश्रो चरणको वार्ताका क्रममा युद्धविराम घोषणा गरी सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने सहमति भएपनि रुसी पक्षले गोलाबारीलाई निरन्तरता दिएको युक्रेनी पक्षको आरोप छ ।

यसअघि बेलारुसमा रुस र युक्रेनबीच भएको दोश्रो चरणको वार्ताका क्रममा युक्रेनको मारिउपोल शहरमा हिंसा रोकेर सर्वसाधारणको उद्धार गर्ने सहमति भएको थियो ।

यद्यपि रुसी पक्षबाट हिंसा नरोकिएका कारण त्यहाँबाट मानिसहरुलाई सार्ने काम पनि स्थगित गरिएको स्थानीय उपमेयर शेर्ही ओर्लोभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रुसी फौजले मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने बाटोलाई नै लक्षित गरी आक्रमण गरिरहेको जनाइएको छ ।

‘त्यहाँ जान सुरक्षित छैन’ बीबीसीलाई दिएको अन्तरवार्तामा उपमेयरले जनाएका छन् ।

हाल मारिउपोल शहरमा हरेक तीन देखि पाँच मिनेटको अन्तरालमा रुसी आक्रमणबाट भएको विष्फोटको आवाज आइरहेको बीबीसीले जनाएको छ ।