समाचार

नेपालमा आज : के-के भयो दिनभर ?

By खबरहब

March 05, 2022

राष्ट्रियसभा सदस्यद्धारा सपथ ग्रहण

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सिंहदरबारमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूलाई सपथ खुवाएका हुन् । नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार छन् । त्यस्तै नवनिर्वाचित सदस्य सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे,  तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्रले पनि शपथ लिएका छन् ।

भोली बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची प्रकाशित

भोली बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची प्रकाशित गरिएको छ। संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची आज साँझ प्रकाशित गरेको हो।भोलिको सदनमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

यता सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । भोलि बिहान साढे ११ बजेका लागि कार्यव्यवस्थाको बैठक बोलाइएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विगत ६ महिनादेखि संसद बैठक अवरोध गर्दै आएको छ। 

संघीय निजामती सेवा ऐन यथासिघ्र जारी गर्ने प्रधानमन्त्री देउवाको भनाइ

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथासिघ्र जारी गर्ने बताएका छन्। आज काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको आठाैँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कर्मचारीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको भन्दै यसका लागि संघीय निजामती सेवा ऐन छिटै जारी गर्ने बताएका हुन् ।

उनले कर्मचारी समायोजनको क्रममा देखिएका समस्यालाई पनि समाधान गर्दै सेवा प्रवाहरूलाई थप प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेको धारणा पनि राखे ।

कार्यक्रममा काँग्रेस महामन्त्री गगन थापाले बैंशाख ३० मा स्थानीय तह निर्वाचन हुने र त्यसपछि आम निर्वाचन हुने भन्दै एमालेले सदन अवरुद्ध गरिरहे आम निर्वाचन केहि समय अघि नै हुनसक्ने बताए । कार्यक्रममा अन्य कांग्रेस नेताहरुले कांग्रेसले आफ्नै जोड बलमा चुनाव जित्ने भन्दै कसैको साहारा लिन आवश्यक नरहेको धारणा राखेका थिए ।

प्रदेश १ को नाम कोसी प्रदेश राख्न एमाले अध्यक्ष ओलीको सुझाव

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी प्रदेश राख्नुपर्ने बताएका छन् । आज झापाको विर्तामोडमा प्रेस चौतारी प्रदेश १ को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै ओलीले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्नुपर्ने बताएका हुन् । उनले कोसी सभ्यताजस्तो साझा पहिचान अरु नभएको जिकिर गरे ।  देश बिभाजन गर्नका लागि पहिचानका आधारमा संघीयता बनाउन खोजेपनि बिफल पारिएको उनको भनाइ थियो । साथै उनले जातिय पहिचानका आधारमा नामाङ्करण गरे प्रदेशको साझा पहिचान खुल्न नसक्ने तर्क गरे ।

माओवादी समाप्त हुने एमाले अध्यक्ष ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र समाप्त हुने दाबी गरेका छन्। सुखानी सहिद स्मृति दिवसका अवसरमा आज झापाको सालबारीस्थित झापा विद्रोहका पाँच योद्धाको सालिकमा माल्यार्पणपश्चात बिर्तामोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी पार्टी सकिने एउटा झलक आगामी वैशाख ३० मा देखिने टिप्पणी गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले जनताले भोट हाले पनि नहाले पनि माओवादी पार्टी समाप्त भएर जाने दाबी गरे ।

गठबन्धन सरकारका कारण राज्यको तीनवटै अंग बिफल भएको एमाले उपाध्यक्ष नेम्वाङको टिप्पणी

नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धन सरकारका कारण राज्यको तीनवटै अंग बिफल भएको बताएका छन् । आज काठमाडौंमा प्रेस चौतारी नेपालको बागमती उपत्यका प्रतिष्ठान र एशोसिएट प्रदेशको संयुक्त प्रथम अधिवेशनको उद्घाटन गर्दै नेम्वाङले सरकार र संसदले केहि काम गर्न नसकेको र अदालतलाई पनि सरकारले काम गर्न नदिएको बताए। उनले अहिलेको अवस्थामा संविधान बमोजिम चूनाव हुनुपर्ने र जनताले नै फैसला गर्ने भन्दै गठबन्धन दलहरु चूनावमा जान डराईरहेको धारणा राखे ।

गठबन्धन टुट्ने भएपछि बाध्य भएर एमसीसीको व्याख्यात्मक घोषणा ल्याएको एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमसीसीको व्यख्यात्मक घोषणा केहि दलको लाज छोप्ने टालो मात्र भएको टिप्पणी गरेका छन् । ओखलढुंगा काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा पोखरेलले गठबन्धन नै टुट्ने भएपछि बाध्य भएर एमसीसीको व्यख्यात्मक घोषणा ल्याएको र सो घोषणा केहि दलको लाज छोप्ने टालो मात्र भएको टिप्पणी गरे । एमसीसीको व्यख्यात्मक घोषणा बसवास भएको उनको भनाई छ । त्यस्तै उनले ताजा जनादेशमा जान्छु भन्दा नमान्ने तर संविधान रक्षा गर्ने नाममा आपराधिक काम भएको भन्दै घृणित दक्षिणपन्थी अवसरवादको अगुवाई माधव नेपालले गरेको बताए ।

स्वार्थ परिपूर्ति गर्न प्रधानन्यायाधिशमाथि महाभियोग लगाइएको राप्रपा नेपालका अध्यक्ष थापाको आरोप

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्तारुढ दलको स्वार्थ परिपूर्ति गर्न प्रधानन्यायाधिशमाथि महाभियोग लगाइएको बताएका छन् । आज पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको घोषणा सभामा अध्यक्ष थापाले एमसीसी पास गर्न र सभामुखमाथिको मुद्धा अघि नवढाउनैका लागि सत्तारुढ दलले प्रधानन्यायाधिशमाथि महाभियोग लगाइएको बताए । उनले न्यायपालिकालाइ सुद्धिकरण गर्ने मनसाय दलहरुको नरहेको तर्क गरे । त्यस्तै उनले लामो समयदेखि सदन अवरुद्ध हुँदा पनि दलहरू गम्भीर हुन नसकेको र लाज पचाएर तलव भत्ता भने बुझिरहेको धारणा राखे ।

 पछिल्लो २४ घण्टामा नेपालमा ९१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ६ सय ६२ पिसिआर परिक्षणमा ६७ जना र ३ हजार ५ सय ५८ एन्टीजेन परिक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ३ सय ६२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५८ हजार ५ सय ५५ जना निको भएका छन् । हाल नेपालमा ६ हजार ९ सय ४७ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा कोरोना नियन्त्रणका लागी लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आजदेखि खुला

काठमाडौं उपत्यकामा कोभिड–१९ सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आजदेखि खुला गरिएको छ। उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) ले हिजाे जारी गरेको आदेशानुसार आजदेखि लागू हुनेगरी ती प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले सबै गतिविधि नियमित  रूपमा सञ्चालन भएका छन् । ती प्रशासन कार्यालयले कानुन बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यवसायिक क्रियाकलाप सञ्चालन गर्न गराउन भनी नयाँ आदेश जारी गरेको हो । आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गर्न भनेको छ ।

 आन्तरिक हवाइ उडानमा ५४० रुपैयाँसम्म बृद्धि

निजी क्षेत्रका सबै एयरलाइन्सहरूले आइतबारदेखि लागु हुने गरी आन्तरिक उडानको भाडादर बढाएका छन् । एयरलाइन्स अपरेटर्स एसोसियसन अफ नेपालले हवाइ इन्धनको मूल्यबृद्धिसँगै भाडा बढाएको हो । नेपाल आयल निगमले हवाइ इन्धन प्रतिलिटर १३६ रुपैया पुर्याउँदा १० रुपैया प्रतिलिटर बढेको आयोनले जनाएको छ । निगमले आन्तरिक हवाइ इन्धन ११३ रुपैयामा खरीद गरी २३ रुपैया ८ पैसा नाफा राखेर १३६ रुपैया प्रति लिटरमा बिक्री गर्छ । आयोनले आन्तरिक उडानर्फ कम्तिमा ९० रुपैयाँदेखि बढीमा ५४० रुपैयासम्म बृद्धि गरेको छ । सबैभन्दा कम काठमाडौं सिमरा उडानमा बढेको छ भने बढी विराटनगर–नेपालगञ्ज रुटमा बढेको छ ।