झापा- सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा सुरु भएको पाँचौ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएकाे खेलमा जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटो क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।
ताेकिएकाे समयमा दुवै टोलीले २ -२ को बराबरी गोल गरेका थिए । खेल बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको हो । खेलको तेस्रो मिनेटमै सातदोबाटोका लागि अजयी मार्टिनले गोल गरेका थिए । निरज चौधरीले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मार्टिनले ‘वान टच’मा गोल गरे । दोस्रो हाफको ८ औँ मिनेटमा सातदोबाटोका आशिष राईले गोल गर्दै खेल बराबरीमा पारेका थिए ।
आइतबारको दोस्रो खेल नेपाल पुलिस क्लब र संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।
३० फागुनसम्म हुने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पुरस्कार पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।
प्रतियोगितामा नेपालका ८ र भारतका दुई क्लबको सहभागिता छ । पाँचौँ संस्करणको झापा गोल्डकपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । झापा गोल्डकपका सदस्यसमेत रहेका ओलीले डोमालाल राजवंशी रंगशालको विकासमा र खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।