देश/प्रदेश

गण्डकी र मधेस प्रदेशबीच धार्मिक र पर्यटकीय सम्बन्ध जोडिने

By खबरहब

March 05, 2022

जनकपुरधाम– गण्डकी र मधेस प्रदेशका मुख्यमन्त्रीले अधिकार प्राप्तिका लागि प्रदेश सरकारहरू एकमत भएर अगाडि बढुनुपर्ने बताएका छन् ।

मधेस र गण्डकी प्रदेशबीच आन्तरिक पर्यटन प्रवद्र्धनसम्बन्धी छलफलमा दुवै मुख्यमन्त्रीले अधिकारको निक्षेपणमा संघीय सरकारको मानसिकता अझै पनि केन्द्रीकृत रहेकाले आगामी दिनमा सहकार्य गरी प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउनु आवश्यक रहेको बताए ।

कार्यक्रममा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजस्वको बाँडफाँटमा केन्द्रले धेरै राखेर प्रदेशलाई उपलब्ध गराउने गरेको सानो अंशले हाम्रा विकासका आवश्कताहरू पूरा हुने अवस्था नरहेको बताए ।

उनले अन्तर प्रदेश समन्वय परिषदको बैठक नियमित बस्ने र समस्याको समाधान निकाल्ने तर्फ हामीले पनि घच्घच्याउनु आवश्यक रहेको बताए ।

साझा सरोकारका विषयमा समय समयमा मुख्यमन्त्रीहरूबीच छलफल गरी अनुभव तथा सहयोगको आदान प्रदान तथा संघीयताको प्रवद्र्धनका लागि स्पष्ट धारणा बनाउनु आवश्यक रहेको पनि मुख्यमन्त्री पोखरेलले बताए ।

गण्डकी प्रदेशमा आएका पर्यटनकलाई मधेस प्रदेश र मधेश प्रदेशमा आएका पर्यटकलाई गण्डकी प्रदेशमा जानका लागि अभिप्रेरित गर्ने कार्य निजी क्षेत्रको अगुवाईमा अगाडि बढाउन सकिने उनको भनाइ थियो ।

आपसी हितका बृहत् परियोजनाहरू जानकी, लुम्बिनी, मुक्तिनाथ र पोखरा जोड्ने सर्किट विकास गर्न सकिने भन्दै मुख्यमन्त्री पोखरेलले हवाई उडानलाई नियमित बनाउने र यसको क्षमता बढाउन सक्ने सम्भावना पनि रहेको बताए ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गण्डकीका असल अभ्यासको अनुकरण आफूहरूले गर्ने प्रतिबद्धता जनाए । प्रदेश सरकारहरूले सामूहिक रूपमा एजेन्डा बनाएर आवाज राखेको खण्डमा संघीय सरकार त्यसलाई सम्बोधन गर्न वाध्य हुने भनाइ राखे । संविधानले ग्यारेन्टी गरेका अधिकारलाई रोक्ने ताकत कसैसँग नरहेको भन्दै उनले यसको प्राप्तिका लागि आफूहरू लागिपर्ने उनले बताए ।

पर्यटकीय र धार्मिक सम्बन्ध कायम गर्नका लागि मधेस सरकार तयार रहेको मुख्यमन्त्री राउतले बताए ।

त्यस अवसरमा गण्डकी प्रदेश पर्यटन, उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल र मधेस प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विन्दुकुमारी मिश्रले तत्तत् प्रदेशमा पर्यटनको सम्भावनाका बारेमा प्रस्तुति राखेका थिए ।

कार्यक्रममा नाटा गण्डकी च्याप्टर अध्यक्ष सञ्जयकान्त सिग्देलले अब दुई प्रदेशबीच हवाई सम्पर्क स्थापित भएपछि पर्यटन प्रवद्र्धनमा सुधार हुने विश्वास व्यक्त गरे ।

नाटा मधेस च्याप्टर अध्यक्ष मोहन शर्मा लामिछानेले पोखरा र जनकपुरबीच हवाई उडान सुरु भएको दिनलाई मधेस प्रदेशले उत्सवका रूपमा मनाएको बताए ।

उद्योग वाणिज्य संघ जनकपुर पूर्वअध्यक्ष इन्जिनियर प्रकाशचन्द्र साह, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह लगायतले भनाइ राखेका थिए ।

यसैबीच, शनिबारबाट जनकपुर–पोखरा हवाई उडान सुरु भएको छ । यसले दुवै प्रदेशको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । पहिलो उडानबाट गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलसहितको टोली जनकपुर आएको हो ।