तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

पाकिस्तानी सेनाले इमरान खानलाई हटाउने कुनै विदेशी षड्यन्त्र फेला नपारेको खुलासा

By खबरहब

April 05, 2022

काठमाडौं– पाकिस्तानी सेनाले प्रधानमन्त्री इमरान खानविरुद्ध कुनै विदेशी षड्यन्त्र फेला नपरेकोबारे पहिले नै जानकारी गराएको खुलासा भएको छ । पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार अघिल्लो साताको आइतबार बसेको पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सैनिक नेतृत्वले प्रधानमन्त्री खानविरुद्ध कुनै विदेशी षड्यन्त्र नरहेको बताएका थिए ।

प्रधानमन्त्री खानले गोप्य रुपमा फेला पारिएको कूटनीतिक सूचनामा ‘पाकिस्तानमा अमेरिकाले सत्ता परिवर्तन चाहेको’ प्रमाण रहेको दाबी गर्दै आएका थिए । आफूमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि खानले यही दाबीलाई दोहोर्‍याउँदै आफूविरुद्ध विदेशी षड्यन्त्र रचिएको बताउँदै आएका थिए ।

सोही कूटनीतिक सूचनाबारे छलफल गर्न अघिल्लो साताको आइतबार अर्थात् मार्च २७ मा पाकिस्तानी राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकिएको थियो ।

उक्त बैठकमा सैनिक नेतृत्वले कुनै षड्यन्त्र फेला नपरेको बताएको सोमबार ट्रिब्युन पत्रिकाले खुलासा गरेको हो । यद्यपि उक्त बैठकपछि सुरक्षा परिषद्ले कूटनीतिक सूचनामा गैर कूटनीतिक भाषाको प्रयोग भएको र पाकिस्तानको आन्तरिक मामिलामा यस्तो हस्तक्षेप अस्वीकार्य रहेको जनाएको थियो ।

पाकिस्तानी संसद्का उपसभामुख कसिम सुरीले सुरक्षा परिषद्को यही निर्णयका आधारमा प्रधानमन्त्रीमाथि विदेशी षड्यन्त्र रचिएको भन्दै संविधानको धारा ५ अनुसार अविश्वासको प्रस्ताव खारेज गरिदिएका थिए । यता राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी सैनिक नेतृत्वले भने माइनुटमा हस्ताक्षर नै नगरेको देखिएको ट्रिब्युनले जनाएको छ ।